भारतमा पछिल्लो समय एउटा ‘आवाज’ले अभियानको रूप लिइरहेको छ । विवाहमा कन्यादानको विधिलाई बहिष्कार गर्ने अभियान भारतमा अहिले चलिरहेको छ । हिन्दु संस्कारअनुसार विवाह गर्दा माइतीपक्षले केटा पक्षलाई आफ्नी कन्यालाई दानका रूपमा दिएको भन्दै कन्यादान गर्ने गरिन्छ । जहाँ, कन्यालाई वैदिक विधिअनुसार सङ्कल्प गरी दुलाहाको हातमा दुलही जिम्मा दिइन्छ ।
यो सामाजिक रीति वर्षौँदेखि चलिआएको छ । तर पछिल्लो समय भने छोरी कन्यादान गर्ने वस्तु नभएको भन्दै महिला अभियन्ताहरूले अभियान चलाउन थालेका हुन् । विशेषगरी भारतमा पछिल्लो समय यो अभियानले तीव्रता पाएको छ । हालैमात्र, भारतको नरसिंहपुर जिल्लाकी आइएस अफिसर तपस्या परियारले र आइएफएस अफिसर गर्वित गङ्गवारसँगको बिहेमा कन्यादानलाई बहिस्कार गरेकी थिइन् ।
पहिलेदेखि नै कन्यादान विधिको विरोधमा रहेकी तपस्याले आफ्नो योजनाअनुसार नै बिहेमा कन्यादान नगर्ने अडान लिएकी हुन् । सोहीअनुसार उनले आफ्नो माइतीपक्ष र ससुरालीसँग सहमति बनाएर कन्यादानबिनै विवाह गरिन् । तपस्या र गर्वितको विवाहसँगै सुरु भएको यो अभियानले भारतमा तीव्रता पाएको छ । थुप्रै अभियन्ताहरूले यसको समर्थन गरिरहेका छन् ।
तर नेपालमा भने यो अभियान वर्षौँअघि नै सुरु भएको थियो । महिला अधिकारकर्मी तथा कवि सीमा आभासले थालेकी हुन् । १२ वर्षअगाडि सीमाले टेकेन्द्र अधिकारीसँग आफन्त र परिवारबीच काठमाडौँस्थित पशुपतिनाथको वनकालीमा परम्परागत बिहे गरेकी थिइन् । विवाहको दौरान उनले कन्यादान विधिलाई अस्वीकार गरेकी थिइन् । आफ्नो बिहेमा मात्र नभएर सीमाले आफ्नी बहिनीको बिहे पनि बिनाकन्यादान गरेकी थिइन् ।
‘१२ वर्षअगाडि नै हाम्रो विवाहमा मैले ‘म कन्यादान दिने वस्तु होइन’ भनेर कन्यादान गर्न मानिनँ,’ उनी भन्छिन्, ‘पछि मेरी एउटी बहिनीको बिहेमा पनि कन्यादान गरेनौँ हो । त्यसबाहेक अरू केहीलाई पनि छोरी कन्यादान दिने वस्तु होइन भनेपछि उनीहरूले कन्यादान नगरी बिहे गरेका छन् । भारतमा भर्खर सुरु गरेछन्, यो अभियान । आफूले त नेपालमा उहिल्यै थालेको हो ।’
यसरी कन्यादान विधिको विरोध गर्दा गैरहिन्दु मानिदिने परिपार्टी रहेको उल्लेख गर्दै उनले तर आफू हिन्दु नै भएपनि यस्तो रीतिको अन्त्य हुनुपर्ने बताइन् । ‘यस्तो रीतिको अन्त्य हुनुपर्छ,’ उनी भन्छिन्, ‘कोही पनि बाबुआमाले छोरीको कन्यादान नगरी पनि विवाह गरिदिउन् । कन्यादान बहिस्कार गर्दा गैरहिन्दु भन्लान् म हिन्दु नै हुँ है !’