पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्डकप फुटबलअन्तर्गत बिहीबार (आज) दोस्रो सेमिफाइनलमा खेल हुँदै छ । आज फाइनल पुग्ने लक्ष्यका साथ त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबले खेल्ने छन् ।
पोखरा रङ्गशालामा हुने यो खेल दिउँसो २:३० बजे हुने छ । यस खेलमा दुवै टिम एकअर्कालाई हराउँदै नेपाल एफिएफसँग भेट पक्का गर्ने दाउमा छन् । विभागीय टोली एपिएफ क्लब बुधबार भएको पहिलो सेमिफाइनल खेलमा १० खेलाडीमा सीमित मच्छिन्द्र क्लबलाई ३–१ गोलले हराउँदै उपाधि नजिक पुगेको छ ।
आज आमीसँग भिड्न लागेको मनाङ आहा रारा गोल्डकपको अनुभवी टिम हो । मनाङ सर्वाधिक धेरै पटक आहा रारा गोल्डकपको सेमिफाइनलमा पुग्ने टिम पनि हो । २०५८ सालबाट सुरु भएको गोल्डकपमा मनाङले २० पटक सेमिफाइनल खेल खेलेको छ । उसले २०५८, २०५९, २०६०, २०६१, २०६२, २०६३, २०६६, २०६७, २०६८, २०७०, २०७१, २०७२, २०७३, २०७६ र २०७८ मा अन्तिम चारमा स्थान बनाएको हो ।
आर्मी क्लबले भने नौ पटक सेमिफाइनलमा स्थान बनाएको छ । हालसम्म आहा रारा गोल्डकपको उपाधि जित्न नसकेको आर्मीले यसअघि २०६०, २०६५, २०६९, २०७२, २०७३, २०७५, २०७६ मा सेमिफाइनल खेल खेलेको थियो ।
प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।