तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणले नेपालमा ४८ दशमलव ९६ प्रतिशत पुरुष र ५१ दशमलव ०४ प्रतिशत महिला भएको तथ्यांक सार्वजनिक गरेको छ ।
देशभरको कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० हुँदा महिलाको सङ्ख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको सङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।
लैङ्गिक अनुपात हेर्नेहो भने प्रत्येक १०० महिला बराबार पुरुषको सङ्ख्या ९५ दशमलव ९१ हुन आउँछ । यो अनुपात २०६८ सालको जनगणनाको तुलनामा केही बढि हो । १० वर्षअघि १०० महिला बराबर ९४ दशमलव १६ पुरुष रहेकोमा अहिले केही मात्रामा बढेको देखिन्छ ।
भौगोलिक क्षेत्रअनुसार हेर्नेहो भने हिमाली भागमा १०० महिलाबराबर ९७ दशमव ४७ पुरुष छन्, पहाडी क्षेत्रमा ९४ दशमलव ९२ र तराई क्षेत्रमा ९६ दशमव ४७ पुरुषहरू रहेका छन् । प्रदेशगत रुपमा हेर्दा मधेश प्रदेशमा महिला भन्दा पुरुषको सङ्ख्या उच्च देखिन्छ । त्यहाँ १०० जना महिला बराबर १००.९९ जना पुरुष छन् ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणमा रहेको तथ्यांकलाई थप विश्लेषण गर्दा देशका ७७ वटै जिल्लामध्ये १६ जिल्लामा महिलाभन्दा पुरुषको सङ्ख्या बढि देखिएको छ बाँकी ६१ जिल्लामा महिलाहरूको सङ्ख्या बढी छ ।
मनाङ्ग जिल्लामा ३ हजार १८८ पुरुष हुँदा महिलाको सङ्ख्या २ हजार ४५७ रहेको छ । मधेश प्रदेशका ८ जिल्लामध्ये ४ जिल्लामा महिलाको तुलनामा पुरुषको सङ्ख्या उच्च छ । छोरीभन्दा छोराको बढी चाहना र दाइजो प्रथालगायतका कारण यहाँ महिलाको जनसङ्ख्या घट्दै गएको सङ्घीय जनसङ्ख्या कोष सर्लाहीका जिल्ला संयोजक बच्चालाल महतोले बताए। विशेषगरी मध्यम वर्गका व्यक्तिहरुले गैर कानुनी रुपमा लिङ्गको पहिचान गरी गर्भपतन गराउने गरेका कारण मधेश प्रदेशमा महिलाको जनसङ्ख्या घट्दै गएको उनको भनाइ छ ।
त्यस्तैगरी काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा पनि पुरुषहरू नै बढि छन् भने केही पहाडी र हिमाली जिल्लाहरूमा महिलाभन्दा पुरुषको सङ्ख्या बढि देखिएको छ ।
मनाङ, मुस्ताङ, पर्सा, बारा, काठमाडौं, भक्तपुर, सर्लाही, हुम्ला, रौतहट, संखुवासभा, ताप्लेजुङ, ललितपुर, सोलुखुम्बु, रसुवा, मुगु र जुम्लामा पुरुषको सङ्ख्या बढि देखिएको हो ।