केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालका ३२ जिल्लामा जनसंख्या घटेको छ ।
२०६८ सालको जनगणनाको तुलनामा १० वर्षपछि गणना गर्दा ती ३२ जिल्लामा वसोबास गर्ने मानिसहरूको सङ्ख्या कम पाइएको हो ।
धेरैजसो हिमाली र पहाडी जिल्लाहरूमा जनसंख्या घटेपछि तराई वा सुगम स्थानतर्फ बसाइसराइ गर्ने सङ्ख्यामा वृद्धि, जन्मदर भन्दा मृत्युदर बढि लगायतका कारणहरू हुनसक्ने बताइन्छ ।
अघिल्लो पटकको जनगणनामा जनसंख्या घट्ने जिल्लाहरू २७ रहेकोमा अहिले बढेर ३२ पुगेका हुन् । रामेछापमा २०६८ सालमा २ लाख २ हजार ६४६ जनसंख्या रहेकोमा अहिले घटेर १ लाख ७० हजार ६२० मा झरेको छ ।
रामेछाप, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुम, गुल्मी, स्याङ्जा, अछाम, अर्घाखाँची, पर्वत, पाँचथर, सिन्धुपाल्चोक, लमजुङ, धनकुटा, दोलखा, पाल्पा, गोरखा, बाग्लुङ, ताप्लेजुङ, म्याग्दी, नुवाकोट, ओखलढुंगा, धादिङ, काभ्रेपलाञ्चोक, ईलाम, दैलेख, बझाङ, डोटी, बैतडी, डडेल्धुरा, सल्यान र सोलखुम्बुमा १० वर्षअघिको तुलनामा जनसङ्ख्या घटेको छ।
बाँकी ४५ जिल्लामा भने जनसङ्ख्या बढेको छ। सबैभन्दा धेरै भक्तपुरमा वार्षिक ३.३२ प्रतिशत, रुपन्देहीमा २.३० र चितवनमा २.१० प्रतिशतका दरले जनसङ्ख्या बढिरहेको छ।