सुनसरीमा तरबार प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराव टोलका ३२ वर्षीय लालुप्रसाद उराव रहेका छन् ।
३० वर्षीया चन्द्रकला उराउलाई तरवार प्रहार गरी हत्या गरेको अभियोगमा लालुप्रसादलाई सुनसरी प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।
सुनसरी प्रहरी प्रमुख सञ्जयसिंह थापाका अनुसार लालुले आफ्नै श्रीमतीलाई तरबर प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयबाट खबर प्राप्त हुनासाथ प्रहरी चौकी भोक्राहा, ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको एसपी थापाले जनाए ।
‘शुक्रबार राति १२ बजे घरायसी झगडाका क्रममा लालुप्रसादले पत्नी चन्द्रकलालाइ घरेलु हतियार तरबारले गर्द्धनमा प्रहार गरेका रहेछन्,’ एसपी थापाले केटिएम दैनिकसँग भने, ‘तीन बच्चाहरू रहेछन् । उनीहरूका माध्यमबाट स्थानीयले प्रहरीलाइ खबर गरेछन् । राति नै उनी पक्राउ परेका छन् ।’ यस विषयमा अनुसन्धान भइरहेको एसपी थापाले जनाए ।