नक्कली नोटसहित महोत्तरीबाट दुई युवा पक्राउ परेका छन् । महोत्तरीको जलेश्वर नगरपालिका-३ मलिवारास्थित भिठ्ठामोड जलेश्वर सडकखण्डबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-६ का २६ वर्षीय मोजाहिद रेजा र धनुषाको लक्ष्मिनिया गाउँपालिका-१ बस्ने २३ वर्षीय असरफ मोहम्मद रहेका छन् ।
बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारिएको हो ।
त्यसवेला एक हजारको २ वटा, पाँच सयको २ वटा र एक सयको २ वटा नेपाली नोट समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवैजनालाई बरामद रुपैयाँ, नक्कली नोट छाप्ने कागज तथा कारसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
दुवै जनालाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।