मंगलबार अपरान्हसम्म देशैभर ३९ हजार बढी सक्रिय सङ्क्रमित हुँदा काठमाडौं उपत्यका भित्रका तीन जिल्लामा ६२ प्रतिशत भन्दा बढी सङ्क्रमित छन् ।
कोरोना भाइरसको सङ्क्रमण भएर होम आइसोलेसनमा बसेका वा उपचारको लागि अस्पतालमा रहेका बिरामीहरूलाई सक्रिय सङ्क्रमित भनिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार देशभर ३९ हजार ४४ सक्रिय सङ्क्रमित रहेकोमा उपत्यकाभित्र मात्रै २४ हजार ५७६ सङ्क्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा १७ हजार ७०९, भक्तपुरमा २ हजार ३९६, ललितपुरमा ४ हजार ४७१ सक्रिय सङ्क्रमित रहेका छन् ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएयता काठमाडौंमा २ हजार २४५ ललितपुरमा ७१२ र भक्तपुरमा ४३८ जनाले यही भाइरसको कारण ज्यान गुमाएका छन् ।
देशैभर ११ हजार ६२४ जनाको निधन हुँदा काठमाडौं उपत्यका भित्र ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ३९५ रहेको छ । तथ्याङ्क हेर्दा देशभर ज्यान गुमाउनेमध्ये काठमाडौं उपत्यका भित्र एक तिहाइले ज्यान गुमाएका छन् ।