विराटनगरको कोसी अस्पतालमा कार्यरत ४७ जना कर्मचारीलाई कोरोना भाइरस (कोभिड१९) सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले केटिएम दैनिकलाई जानकारी दिएअनुसार मङ्गलबार दिउँसोसम्म अस्पतालमा कार्यरत ४७ कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
अझै अरू कर्मचारीको रिपोर्ट आउन बाँकी रहेका कारण सङ्क्रमित कर्मचारीको सङ्ख्या बढ्ने उनको भनाई छ । उनका अनुसार आठ डाक्टर, १७ जना नर्स, परामेडिक्स, सफाइ कर्मचारीलगायत गरी ४७ जनामा सङ्क्रमण देखिएको हो । पछिल्लो सात दिनको अन्तरमा ४७ कर्मचारी सङ्क्रमित भएका हुन् ।
स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको बताउँदै उनले भने, ‘आजमात्र थप एक जनाको रिपोर्ट पोजिटिभ आयो । अरू थपिँदै जानेक्रम बढेको छ । यसैले अस्पतालको सेवा प्रभावित हुने अवस्था देखिएको छ ।’
हालसम्म भने सबै उपचार विभाग खुला रहेको भएपनि कोरोना सङ्क्रमित कर्मचारीको सङ्ख्या बढेमा अस्पतालको सेवा प्रभावित हुने सम्भावना धेरै रहेको उनले बताए । उनका अनुसार हाल करिब ९० डाक्टरसहित पाँच सय ५० कर्मचारी कोसी अस्पतालमा कार्यरत छन् ।