भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रादेवी शर्माले मास्क लगाउन अटेरी गर्नेलाई ठाउँको ठाउँ कारबाही गरिने बताएकी छन् । सीडीओ शर्माले भनिन्,” हामी अहिले जिंगल बजाएर वृद्ध, अशक्तहरुलाई मास्क बाँडिरहेका छौं । सकेसम्म स्वतःस्फूर्त रुपमा मास्क लगाउने गरी सकारात्मक बाटोबाटै काम गरिरहेका छौं ।
अब मोटरसाइकल-गाडी चढ्ने, बुझेर पनि नबुझेजस्तो गरी माक्स नलगाई अटेरी गर्नेहरु ठाउँको ठाउँ कारबाहीमा पर्छन् । त्यसको नतिजा तपाईंले केही दिनमा देख्नुहुनेछ ।”
पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढेकाले सबैले सुरक्षित हुने प्रयास गर्नुपर्ने सीडीओ शर्माको कथन छ । उनले थपिन्, “अस्ति भरखर एउटा सरकारी अफिसमा ३७ जनाको टेस्ट गर्दा १० जनामा कोरोना पोजिटिभ भेटियो ।
हाम्रै अफिसमा दुई जनामा संक्रमण देखियो । कोभिड र ननकोभिडका बिरामीले अस्पताल भरिएका छन् । निजी अस्पतालाई तयारी हालतमा राख्नुपर्ने अवस्था छ ।”
सीमा नाकामा मास्क प्रयोगमा निगरानी राखिए पनि स्वास्थ्य परीक्षण नभएको उनले बताइन् । उनले भनिन्, “हामीले उपत्यकामा नागरिकलाई रोकेका छैनौं । साँगामा सशस्त्र र नेपाल प्रहरीबाट सवारी जाँच बढाएका छौं ।
सवारी साधन धेरै बेर रोक्दा जाम हुन्छ । अब टेस्ट बढाउने सोच छ । यसबारे उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकबाट छिटै निर्णय हुन्छ ।”
बाग्लुङ घर भएकी उनी भक्तपुरमा सरुवा हुनुअगाडि गुल्मि जिल्लाको सीडीओ थिइन् । रामेछापमा १० महिना पूरा गरेपछि उनको गुल्मीमा सरुवा भएको थियो ।