मध्य प्रदेशको पेन्च नेशनल पार्कको ‘सुपर मम’ को मृत्यु भएको छ । कलरवाली बघिनीको नामले चर्चित यी बघिनीले सबैभन्दा धेरै डमरुलाई जन्म दिएकी थिई जो एक रेकर्ड हो ।
१७ वर्षकी बघिनी पछिल्लो तीन–चार दिनदेखि बिरामी थिई । उक्त बघिनीको शनिबार पेन्च नेशनल पार्कको जंगलमा मृत्यु भएको हो । नेशनल पार्कका अधिकारीको उपस्थितिमा बघिनीको अन्तिम संस्कार गरिएको छ ।
यो बघिनीले आफ्नो जीवनकालमा २९ वटा डमरुको जन्म दिएकी थिई । बाघको संख्या वृद्धिमा ठूलो योगदान पुर्याएकी यो बघिनीलाई ‘सुपर-मम’ को ट्याग दिइएको थियो ।
यो बघिनीको जन्म पेन्च नेशनल पार्कमा सन् २००५ मा भएको थियो । सन् २००८ मा पहिलो पटक आमा बनेकी उक्त बघिनीले सन् २०११ मा एकैपटक पाँच डमरु जन्माएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । एकै पटक पाँच डमरुको जन्मलाई दुर्लभ मानिन्छ ।
कलरवालीको नामले चर्चित बघिनीको मृत्युपछि मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान, गृहमन्त्री नरोत्तम मिश्रा र शिक्षामन्त्री विश्वास सारंगले ट्वीट गरेर दुःख जताउँदै श्रद्धाञ्जली दिएका छन् ।