जति नै आलोचना वा नकारात्मक टिप्पणी गरे पनि ताजा घटना, तिनको गहन विश्लेषण र अन्तरकुन्तरका जानकारी मिडियाबाटै पाउँछौँ । राज्यका बेथिति र विसङ्गतिबारे सुसूचित हुने पनि सञ्चार माध्यमबाटै हो । अहिलेको विश्वमा कसैलाई अलिकति पनि जबाफदेही वा उत्तरदायी कसैले बनाएको छ भने त्यो मिडियाले हो । यसलाई नकार्न सकिँदैन ।
हो पछिल्लो समय मिडिया सस्तो हुँदै गएको पक्कै हो । यसमा केही विकृति नआएका होइनन् । निष्पक्षता र निरपेक्षताको खाँचो छ । मिडिया हाउस र कतिपय अवस्थामा स्वयं पत्रकार पनि पेसाप्रतिको व्यावसायिकता र धर्मबाट विचलित भएका छन् । चुकेका छन् । यसको चर्चा यहाँ गर्न खोजिएको होइन ।
रात दिन दुःख गरेर अरूका दुःख देखाउने पत्रकारको दुःख कसले देखेको छ ? कसले लेखेको छ ? यहाँ चर्चा गर्न खोजिएको खास विषय यही हो । भोको पेटले कति पत्रकारले समाचार लेखे ? फाटो लुगाले कति नयाँ विषय उजागर भए ? जिन्दगी दाउमा राखेर कतिलाई प्रश्न गरे ? आफूले अन्याय सहेर कतिलाई न्याय दिलाए ? कसैसँग हिसाब छैन । यसमा महिला पत्रकारहरूले पाउने गरेको पीडालाई यहाँ उल्लेख गर्न खोजिएको छ ।
कसैको बाइकमा चढ्नै नहुने, कोहीसँग बोल्नै नहुने राम्रो कुरा लेख्दा पनि चरित्र हत्या गर्न खोज्ने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शारिरिक शोषण गर्न खोज्ने अगाडि बढ्नबाट रोक्ने जस्ता कार्यहरू महिला पत्रकारहरूले भोग्दै आइरहेका छन् । यहाँ देशका विभिन्न स्थानमा कार्यरत महिला पत्रकारहरूले भोगेका कुराहरू समेटिएका छन् । यी भोगाइहरू बास्तविक हुन् तर पात्र र स्थानहरू भने गोप्य राखिएको छ ।
१) राजधानीमा आयोजित एक कार्यक्रममा एक महिला पत्रकारले आफू एक बरिष्ठ पत्रकारबाट बलात्कारको सिकार भएको कुरा सुनाइन् । समाजका गन्यमान्य व्यक्तिहरूबाट उक्त कुरा गुपचुप राख्न दवाव आएको बताइन् । उनी बोलिरहँदा रिस, आवेगका साथमा दिदी तथा वरिष्ठताको उपाधि पाएकाहरूले पनि सहयोग नगरेको आरोप लगाइन् । उनको कुरा सुनेपछि यो लेख लेख्ने पंक्तिकार पनि उनीसँगसगै रोएँ ।
२) पत्रकार महासंघको निर्वाचनताका एक महिला पत्रकारले आफू हिसांमा परेको कुरा सामाजिक सञ्जालमार्फत खुलाइन् । ती पुरुष पत्रकारले आफ्नो तिघ्रामा असहज तरिकाले स्पर्श गरेको उनको आरोप थियो । तर महासंघको चुनाव भाँड्न र आरोपित पुरुष पत्रकारलाई जित्न नदिन प्रोपोगन्डा बनाएको आरोप लगाएर उल्टै उनकै चरित्र हत्या गरियो । अझ, त्यो जिल्लाका वरिष्ठ पत्रकार कलहिएका एक पुरुषले त, ‘यी आइमाईहरू (जुन शब्द उच्चारण गर्न प्रतिबन्ध छ) को काम छैन, यिनीहरूले पत्रकारिता गरेर खाँदैनन्’ भनेर सार्वजनिक कार्यक्रममै भाषण गर्न भ्याए ।
३) भर्खरै पत्रकारिता थालेकी र काठमाडौँमा समेत नयाँ रहेकी एक महिला पत्रकारलाई सुरुका दिनमा दाइ पत्रकारले राम्रै सहयोग गरे । आफ्नै मोटरसाइकलमा विभिन्न कार्यक्रमहरूमा लैजानेदेखि लिएर कार्यक्रमहरूको बारेमा जानकारी दिनेसमेत गरे । पछि उनले अन्य पत्रकारहरूलाई ती महिला पत्रकार आफ्नो पछि लागेको भनेर हल्ला गर्दै हिँडे । केही महिला पत्रकारहरूसँग उक्त महिलाको चरित्र हत्या गर्नसम्म उक्साए । महिलाहरूको साथ लिएर उक्त महिलालाई ह्यारासमेन्ट गर्न थाले । पछि ती महिला पत्रकारले पत्रकारिता आफ्नो लागि रहेनछ भनेर बैंकिग क्षेत्र रोजिन् ।
४) अङ्ग्रेजी पत्रिकामा काम गर्ने एक महिला पत्रकारले आफू पीडामा रहेको र सम्पादकलाई भन्दासमेत गुपचुप राख्न आग्रह गरेको कुरा ट्विटरमार्फत सार्वजनिक गरिन् । उनले पनि समर्थनको सट्टा विभिन्न आरोप, गाली र लाञ्छना सहनु पर्यो ।
५) एउटै कार्यालयमा काम गर्ने पुरुष पत्रकारले आफूसँग साधन नभएकोले गर्दा लिफ्ट दिन आग्रह गरे । महिला पत्रकारले लिफ्ट दिइन् । पुरुष पत्रकारले शरिरका विभिन्न भागहरूमा छोएर हिंसा गरे ।
६) सरकारी जागिरको आशमा एकजना महिला पत्रकार सञ्चार मन्त्रीको मा पुगिन् । सञ्चारमन्त्रीको व्यवहार असहज लागेर उनी सरकारी जागिर नै नखाने निर्णयमा पुगिन् ।
७) सँगै काम गर्ने पुरुष पत्रकारले महिला पत्रकारसँग बस्दा कुनै पनि फिलिङ्स नआउने भन्दै प्रश्न गर्छन्, ‘तिमी तेस्रोलिङ्गी हो ? तिमीलाई देख्दा किन फिलिङ्स आउँदैन ?’
८) नेपालको चर्चित र नाम चलेको पत्रकारले अनलाइनमार्फत राखेको यौन प्रस्ताव !
९) रेडियोमा कार्यरत एक महिला पत्रकार अन एयर भएपछि स्टेसन म्यानेजरले, तिघ्रा तथा शरीरका विभिन्न भागहरूमा हात पुर्याउने गरेको बताइन् । लाइभमा कराउँ या केही गरौँ भने सबै कुरा बाहिर जान्छ भनेर सहनु पर्ने बाध्यतामा उनी बाँचिरहेको थिइन् । पछि उनले झापड लगाइन्, उक्त म्योजरले अझै हान अझै हान भनेर गाला थापे । अहिले म्यानेजरले बिहे गरेपछि उनी ढुक्क छिन् । तर उनी तलब भने समयमा पाउँदिनन् ।
होटलहरूमा रेड हान्न थालेपछि अहिले अनलाइनका अफिसहरू खुल्ने क्रम बढेको छ । सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता गर्न सजिलो हुने र मिडिया भनेपछि सबै डराउने हुनाले अधिकांश ठाउँहरूमा प्रेमी–प्रेमिकाहरू मिडिया हाउस सञ्चालन गरेर बसेका छन् ।
महिला पत्रकारले आफूविरुद्धको हिंसा कहाँ पोख्ने ?
अरूमाथि भएको हिंसाविरुद्ध बुलन्द आवाज उठाउने महिला पत्रकारहरूले आफूमाथि भएका हिंसाविरुद्ध बोल्ने माध्यम पाएका छैनन् । मिडियामा महिलामाथि विभिन्न तरिकाबाट हिंसा हुने गरेको छ । त्यसका बारेमा उजुरी गर्ने उचित निकायसमेत छैन । आफूभन्दा माथिल्लो निकायमा गुनासो गर्दा पीडितको जागिर नै खोसिने तथा झनै अपमानित हुनुपर्ने अवस्था रहेका कारण पनि उनीहरू आफ्ना समस्याबारे खुल्न सकेका हुदैनन् ।
तर महिला पत्रकारहरूले आफूमाथि भएको हिंसाविरुद्ध प्रेस काउन्सिलमा उजुरी गर्न सक्ने प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत बताउँछन् । उनी भन्छन्, ‘अरूको आवाज बुलन्द रूपमा उठाउने महिला पत्रकारहरूमाथि हुने हिंसाका उजुरीहरूलाई हामीले पहिलो प्राथमिकतामा राखेको छौँ । तसर्थ कसैलाई समस्या भए प्रेस काउन्सिलमा आएर उजुरी दिन सक्नु हुन्छ ।’
महिलासम्बन्धी उजुरी र गुनासा सम्बोधनलाई काउन्सिलले प्राथमिकतामा राख्ने र गोपनीयताको पनि ख्याल गरेर हिंसासम्बन्धी उजुरी सुनुवाइमा काउन्सिल र आयोगले समन्वय गरेर समस्या समाधान गर्ने उनको भनाइ छ । सञ्चारमाध्यममा महिला उत्तरदायी सञ्चार निर्देशिकाको कार्यान्वयन गरी लैङ्गिकमैत्री मिडिया बनाउन काउन्सिलले काम गरिरहेको बताउँदै उनले यसले महिला पत्रकारहरूलाई काम गर्न अझ सहज हुने विश्वास व्यक्त गरे । महिला पत्रकारहरूको लागि काउन्सिल प्रतिबद्ध रहेको समेत उनले बताए ।
‘हिंसाबारे खुल्दा रोकथाममा मद्दत’
मिडिया एड्भोकेसी गुप्रकी कोषाध्यक्ष रसना ढकाल पछिल्लो समय दुर्व्यवहारको घटनाहरू बढेको औँल्याउँछिन् । ‘सर्वप्रथम त महिला या पुरुष हिंसा, हिंसा नै हो । दुर्व्यवहारका घटनाहरू अहिले धेरै मात्रामा सुनिन थालेका छन् । पहिलेपहिले महिला पत्रकारहरू सुरक्षित नभएका घटनाहरू बाहिर आएर समस्याको उचित समाधान भएपछाडि अबचाहिँ यस्ता घटनाहरू हुदैनन् भनेर हामी ढुक्क थियौँ । बद्लिँदो समय र परिस्थितिका साथसाथै अब यस्ता घटनाहरू नदोहोरिने हुन् कि भन्ने मेरो अनुमान थियो । तर पत्रकारिता क्षेत्रमा नयाँ आएका बहिनीहरू नै आफू हिसांमा परेको गुनासाहरू गर्नु हुन्छ । तसर्थ यस्ता घटनाहरू अझै पनि यथावत रहेका छन् भन्ने हामीले बुझेका छौँ ।’
यस्तै, उनले मिडिया एड्भोकेसी गुप्रले महिला र पुरुषलाई छुट्टा छुट्टै राखेर कुरा गर्दा महिला पत्रकारमात्र नभएर पुरुष पत्रकारहरू पनि हिंसामा परेको विषय खुलेको बताइन् ।
आफूलाई दुर्व्यवहार भएपछि आफ्नो कार्यालयको जिम्मेवार व्यक्तिसँग परामर्श लिने, आफ्नो नजिकको साथी, परिवार तथा पत्रकार महासंघ, प्रेस काउन्सिल, म्याग तथा प्रहरीमा पनि उजुरी गर्न सकिने उनको भनाइ । ‘अनलाइनमार्फत हिंसा भएमा तुरुन्तै प्रमाणस्वरूप तुरुन्तै स्क्रिनसर्ट गरेर राखौँ, आफूसँग प्रमाण भएपछि हामी जहाँ पुगेर पनि लड्न सक्छौँ,’ उनी भन्छिन् ।
पत्रकार महासंघ भन्छ : दुर्व्यवहारका एउटा पनि उजुरी आएको छैन
महिला पत्रकारमाथि भएका हिंसा तथा दुर्व्यवहारका घटना सामाजिक सञ्जाल वा अरू कुनै माध्यमबाट बाहिर आएपछि नेपाल पत्रकार महासंघमा भने अहिलेसम्म कुनै पनि उजुरी पुगेको छैन । पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी बाहिर महिला पत्रकारमाथि हुने दुर्व्यवहारका घटना सुनेपनि महासंघमा भने आजसम्म एउटा पनि उजुरी नआएको बताउँछिन् ।
‘हालसम्म एउटा पनि उजुरी आएका छैनन् । तर त्यस्तो निवेदन आएको खण्डमा म जस्तोसुकै अवस्थामा पनि सहयोग गर्न तयार छु,’ उनी भन्छिन्, ‘पत्रकार महासंघमा आएर एउटा निवेदन दिएपछि हामी उहाँहरूलाई न्याय दिलाउन लागि पर्नेछौँ । पत्रकारिता क्षेत्रमा मात्र हैन जुनसुकै क्षेत्रमा पनि महिलामाथि हिंसा हुनुहुँदैन ।’
पछिल्लो समय पत्रकारहरू नै हिसांका परेका घटनाहरू बाहिर आइरहेका छन् । तर आधिकारिक रूपमा त्यस्ता उजुरी महासंघमा दर्ता भएमा समग्र पत्रकार महासंघ र महासंघको महिला विभाग कारबाहीको दायरामा उत्रिन प्रतिबद्ध रहेको उनको भनाइ छ ।
‘हामीले अहिलेसम्म किन कारबाहीको दायरामा ल्याउन सकेनौँ ? अब के गर्नु पर्छ ? कसरी न्याय दिलाउनुपर्छ भन्ने कुरामा हामी कानुनी विभागसँग सल्लाह गरेर कानुनी प्रकिया निःशुल्क उपलब्ध गराउँछौँ’, उनले भनिन् ।
हामीमाथि उल्टै आरोप लगाइन्छ : पीडित महिला पत्रकार
अरूको पीडामा न्याय नपाउन्जेल डटेर लड्ने महिला पत्रकारहरूको पीडा पनि कम छैन । आफ्नो गुनासाहरू परिवारलाई सुनाउँदा परिवारले पत्रकारिता पेसा नै छाड्न सुझाव दिन्छन् । त्यसबाहेक गोपनीयताको डर, जागिर जाने भयलगायत महिला पत्रकारमाथि अनेकौँ पीडा छन् ।
‘आफूमाथि भएको हिंसा कसरी कहाँ खोलौँ,’ एक पीडित पत्रकार भन्छिन्, ‘घर परिवारमा कुरा गरौँ भने उहाँहरू पत्रकारिता पेसाबाट अलग्गिन सुझाव दिनुहुन्छ । उहाँहरू दिन–रात छोरी सुरक्षित त छ नि ? भनेर सोच्न बाध्य हुनुहुन्छ । अनि त्यो आफैँ गतिलो नभएर हिसांमा परेको त हो नि भन्ने प्रश्नहरूको सामना गर्नु पर्छ । गोपनीयताको डर हुन्छ, जागिर नै छोड्नुपर्ने अवस्था आउँछ । किनकि, हामीमाथि उल्टै आरोप लगाइन्छ । यस्ता धेरै घटना मैले देखेकी छु ।’
अन्त्यमा महिला पत्रकारहरू आफै अव्वल हुने र कार्यलयमाथि हुने हिंसा रोक्न प्रतिवद्ध हुने बताउँछन् ।