माघे सङ्क्रान्ति नजिकिँदै जाँदा उपत्यकाका बजारमा तरुल किन्नेको भीड बढ्न थालेको छ । माघे सङ्क्रान्तिलाई लक्षित गरेर व्यापारीले उपत्यकाका बजारमा देशका विभिन्न ठाउँबाट बजारमा तरुल भित्र्याइरहेका छन् ।
गत वर्षको पुसमा यस बजारमा १० लाख ५६ हजार ९७० केजी तरुल भित्रिएको थियो ।
कालीमाटी समितिका सूचना अधिकारी विनय श्रेष्ठले तरुल भित्रिने यही साता भएको र अहिलेसम्मको अवस्था हेर्दा बजारमा गत वर्षभन्दा बढी तरुल भित्रिने अवस्था देखिएको बताए ।
समितिका अनुसार माघे सङ्क्रान्तिमा सिमल तरुल, वन तरुल, पताले तरुल, घर तरुल र हात्तीपाइले तरल बढी माग हुने गर्छ र यी जातका तरुल अन्यभन्दा महँगा पनि हुन्छन् । कालीमाटीका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बजारको ठूलो हिस्सा तराईका घर तरुलले ओगटे पनि मूल्य हिसाबले पहाडबाट आउने पताले तरुल, वन तरुल, इस्कुसका जरा, पानी तरुल महँगो हुने गरेको बताए ।
समितिले बिहीबारका लागि तोकेको तरुलको मूल्य प्रतिकेजी ७० देखि ८० रुपैँया छ ।