नेपालको संविधान २०७२ भाग २ धारा १० को उपधारा १ कार्यान्वयन गर्न र नागरिकताविहीन नेपालीहरूले माग गरेका छन् । उक्त धारामा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भनेर उल्लेख गरिएको छ ।
उनीहरूले विगतको दिनमा नागरिकता नपाएर गुमाएका सेवा सुविधाको क्षतिपूर्ति पाउनुपर्नेसमेत सरकारसँग माग राखेका छन् । आइतबार काठमाडौंमा विरोध प्रदर्शन गर्दै नागरिकता विहिन नेपालीहरूले यस्तो माग गरेका हुन् ।
त्यस्तै उनीहरूले नेपालको संविधान २०७२ भाग २ धारा ११ को उपधारा ३ र ५ पनि लागू गर्न माग गरेका छन् ।
धर्नामा सहभागी भएका जयप्रकाश गिरीले केटिएम दैनिकसँग नेपालमा ५ लाखको हाराहारीमा नागरिक विहिन व्यक्तिहरू रहेको बताए ।
राज्यले आफूहरूलाई नागरिकता नदिएर गैर नागरिक बनाउन खोजेको उनीहरूको आरोप छ । साथै नागरिकता विधेयक संसदबाट पारित गर्न पनि उनीहरूको माग छ ।
माइतीघरमा जम्मा भएर उनीहरू नयाँ बानेश्वरसम्म र्याली निकालेका थिए ।
उनीहरूले संविधानबमोजिम जन्मसिद्ध नागरिकका सन्तान र आमाको नामबाट नागरिकता नपाउँदा आफुहरू राज्यबिहीन हुन पुगेको बताए । उनले नागरिकता नहुदाँ आफूहरू सेवा सुविधाबाट बञ्चित भएको भन्दै त्यसको क्षतिपूर्ति सरकारले दिनुपर्नेसमेत माग गरे ।
शान्तिपूर्ण धर्नामा सहभागी भएकाहरूले देशको असल नागरिक पहिचान गर, २०७२ को संविधान अनुसार भाग २ धारा १० को उपधारा (१) छिटोभन्दा छिटो कार्यान्वयन गर, हामी नेपाली नागरिक आमा बुवाका सन्तान कहिलेसम्म अनागरिक सरकार, नागरिकता विधेयक २०७५ पारित गर लेखेका प्लेकार्ड बोकेका थिए ।
नागरिकता विहिन नागरिक संघर्ष समिति नवलपरासी, लुम्बिनि प्रदेशले आयोजना गरेको धर्ना तथा शान्तिपूर्ण आन्दोलन कार्यक्रम माइतिघर मण्डलामा भएको हो ।
के छ संविधानमा
नेपालको संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भनेर उल्लेख गरिएको छ ।
१०. नागरिकताबाट वञ्चित नगरिनेः
(१) कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।
(२) नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ ।
११. नेपालको नागरिक ठहर्नेः
(१) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन् ।
(२) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ:
(क) यो संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति,
(ख) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति ।
(३) यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
(४) नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ ।
(५) नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ ।
थप तस्विरहरू