बुधबार व्यवसायी डिकेस मलहोत्रा तथा मिस नेपाल २००९ विजेता जेनिसा मोक्तानले आफूहरूले दोस्रो सन्तानलाई जन्म दिन लागेकोमा पार्टी दिएर खुसीयाली साटेको भिडिओ युट्युब च्यानलमार्फत सार्वजनिक गरे ।
उक्त भिडिओमा उनीहरूले छोरीलाई नै लिएर अस्पतालमा गएर भ्रूण परीक्षण गराए र घरमा पार्टी राखेर गर्वको साथ दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिन लागेको कुरा सार्वजनिक गरे । उक्त पार्टीमा जेनिशाले गुलाबी (छोरीको प्रतिनिधित्व गर्ने) लुगा लगाएको थिइन् भने डिकेस मलहोत्राले निलो (छोराको प्रतिनिधित्व गर्ने) कपडा लगाएका थिए ।
उनीहरूले निलो कलरको बेलुन उडाएर आफूले छोरालाई जन्म दिन लागेको कुरा सार्वजनिक गरे । उक्त कार्य विदेशमा प्रायः गर्भस्थ बच्चाको लिङ्ग के छ भन्ने थाहा पाएपछि गरिन्छ । तर नेपालमा भने यस्ता कार्य गर्नुको कुनै तुक छैन किनभने नेपालमा भ्रूणको लिङ्ग पहिचान गर्नु कानुनी अपराध हो ।
डिकेसले आफ्नो भ्लगमा सार्वजनिक गरेको २१ मिनेटको भिडिओमा भए जति सबै नाटक गर्न भ्याए । आफ्नो जेठो सन्तानलाई लिएर अस्पताल गएदेखि लिएर, त्यहाँ चेक गराएर घरमा आएर छोरा छ कि छोरी छ भनेर नाटकीय ढङ्गबाट गेमसम्म खेल्न भ्याए । उक्त भिडिओमा जेनिशाले नेपालमा भ्रुण पहिचान गर्न नदिए पनि हामीलाई जान्न मन लाग्यो र चेक गरायौँ भनेर हास्दै हास्दै भन्छिन्, मानौँ कि उनले निकै ठुलो कार्य गरिन् । उनीहरूलाई बच्चाको लिङ्ग पहिचान गराएर कपडा किन्ने हतार थियो । अमेरिकाबाट बच्चाको कपडा मगाउनु पर्ने भएकोले उनीहरूले भ्रुणको परीक्षण गराउनु जरुरी ठाने ।
नेपालमा भ्रूण परीक्षण गराएर छोरीलाई गर्भमै मार्ने कार्यहरू लुकिछुपी भइरहेको छ, जसलाई न्यूनीकरण तथा अन्त्य गर्न चुनौती थपिरहेको बेला सेलिब्रेटीले यस्तो कार्य गरेर उक्साउन मिल्छ ?
सन् १९८० को दशकमा पहिलो पटक गरिएको प्रजननसम्बन्धी विश्वव्यापी सर्वेक्षण प्रतिवेदनमा नेपाललाई छोरालाई उच्च प्राथमिकता दिने देशको रूपमा चिनाइएको थियो । समाज जतिसुकै शिक्षित र २१औँ शताब्दीमा प्रवेश गरिसक्दा पनि छोरा नै चाहनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन ।
अहिले पनि विवाहित महिलाहरूले छोरा जन्माउनु पर्ने दबाब तथा बाध्यताहरू सहँदै आएका छन् । आफूलाई शिक्षित, सभ्य, सम्भ्रान्त भन्न रुचाउनेहरूसमेतमा यस किसिमको मानसिकता पाइन्छ । यसैको उपज हो, लिङ्ग पहिचान गर्ने प्रवृत्ति । हुन त गर्भ रहेदेखि नै दम्पतीमा कौतुहलता हुन्छ, छोरा वा छोरी भन्ने । तर उनीहरू छोरा वा छोरी दुवैलाई समान रूपले स्वीकार्न भने तयार हुँदैनन् ।
लैङ्गिक विभेदविरुद्ध जतिसुकै चर्को आवाज उठाए पनि व्यवहारिक रूपमा ‘छोरा नै चाहिने मानसिकता’ हराएको छैन । त्यसैले त छोराको प्रतीक्षा गर्दागर्दै धेरै सन्तान जन्माउने, छोरी जन्माएको निहुँमा हेला-होचो गर्नेदेखि कन्या भ्रूण हत्या गर्नेसम्मको कृत्यहरू भित्र–भित्रै जारी छ ।
नेपालको संविधान २०७२ ले पनि छोरा र छोरीबीचको समान अधिकारलाई सुनिश्चित गरेको छ । सन् २००२ मा नेपालमा गर्भपतनले कानुनी मान्यताप्राप्त गरेपछि गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गर्न तथा गराउन र त्यसको आधारमा गर्भपतन गराउनलाई पूर्ण रूपमा बन्देज लगाएको छ ।
नेपालमा गर्भको लिङ्ग पहिचान गर्नु गैर कानुनी हो । तर यही गोरख धन्दा चलाएर छोरीको भ्रूणहत्या भइरहेको तितो यथार्थ हामीसामु छ । सामाजिक मान्यताको बलियो जरो र कानुनको फितलो प्रभावले सायद यो अपराध मौलाएको मान्न सकिन्छ ।
नेपालमा गर्भको लिङ्ग पहिचान गैर कानुनी भए पनि चर्चित सेलिबेटीहरूले नै यसलाई बढाबा दिइरहेका छन् । अभिनेत्री प्रियङ्का कार्कीले आफू आमा हुन लागेको खबर सार्वजनिक गरेको केही समयपछि उनले आफू छोरीको आमा हुन लागेको खबर पनि सार्वजनिक गरिन् । त्यतिमात्र हैन, उनले आफ्नो युट्युब च्यानलमार्फत छोरीको लागि लुगा किनेकोदेखि लिएर उनको लागि सजाएका कोठाहरूसमेत देखाउन भ्याइन् । उनको घरको नाम नै छोरीको नामबाट राखेको घोषणासमेत गर्न भ्याइन् ।
२०७८ साल असोज ६ गते उनले छोरीलाई नै जन्म दिइन् । उनलाई माया गर्ने फ्यान र उनको भ्लग रेगुलर हेर्नेहरू चकित बने । नेपालमा गर्भको लिङ्ग पहिचान गैर कानुनी भए पनि प्रियङ्काले भ्रूण पहिचान गराएको कुरा गोप्य राख्न नसकेकोमा विभिन्न टिकाटिप्पणीहरू भए । एकातिर सरकार लिङ्ग पहिचान नगर्न भन्छ भने अर्को तर्फ धेरैको ध्यान खिच्न सफल र जनचेतन जगाउनु पर्ने सेलिबेटीहरू भ्रम फैलाउँदै हिँडिरहेका छन् ।
लिङ्ग पहिचान गर्नुको पछाडि दम्पतीको खराब नियत वा कन्या भ्रूण हत्याको बढ्दो शृङ्खलाको कारण पनि यसलाई कानुनी मान्यता दिइएको छैन । त्यसैले भिडियो एक्स रे अर्थात् अल्ट्रासाउन्ड गरेर लिङ्ग पहिचान गर्न नपाउने कानुनी व्यवस्था छ । लिङ्ग पहिचान गराउनु हुँदैन भनेर जनचेतना जगाउनु पर्ने सेलिबेटीहरु आफैँ लिङ्ग पहिचान गराएर गर्भवती भएसँगै छोरीको आमा बन्दै छु भनेर सार्वजनिक गरेपछि अरूले के सिक्ने ? प्रियङ्काले गर्दा हुने हामीले गर्दा नहुने भनेर प्रश्नहरू आउन सक्छन् ।
हाम्रो समाजमा छोरा जन्माएमा बूढ्यौलीमा आमाबुवाको सहारा बन्ने, मरेपछि काजकिरिया गर्ने तर छोरीले दिएको दागबत्ती, किरिया र पिण्ड नचल्ने साथै छोरीलाई पराईको दृष्टिकोणले हेर्नेजस्ता प्रवृत्तिहरू अझै विद्यमान छन् । छोरा नजन्माए दोस्रो विवाह गर्ने तथा हिंस्रक प्रकृतिका व्यवहार गर्नेजस्ता कु-प्रचलनहरू आजसम्म पनि पाइन्छन् । पछिल्लो दिनहरूमा छोरीहरू नै किरिया बसेका, बुबा आमाहरूको हेरचाह गरिरहेका र एउटामात्र छोरीमा चित्त बुझाउनेहरूको सङ्ख्या पनि उल्लेख्य रूपमा बढ्दै गइरहेको छ ।
समाजमा यस्तो परिवार पनि छ, जो छोराको लालसामा गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गराएर भ्रूण हत्या गर्ने अथवा गर्भपतन गराउँछ । कानुनी प्रावधानसमेत उल्लङ्घन गरी यस कार्यमा केही अस्पताल तथा क्लिनिकले भ्रूण हत्या गराउनमा मलजल पुर्याएका छन् । यिनै व्यवहारहरूले वास्तवमै ‘भ्रुणावस्थादेखि नै लैङ्गिक विभेद’ सुरु हुने पुष्टि गर्छन् ।
तसर्थ, कस्तो नियतले गर्भपतन गराउन लागेको हो भन्ने कुरा पहिचान गर्नुपर्छ । सुरक्षित गर्भपतन सेवा दिने कुनै त्यस्ता अस्पतालदेखि लिएर सरकारी मान्यताप्राप्त संस्थाहरूलाई समेत अनुसन्धान र सूक्ष्म निगरानीको घेरामा राखेर कानुनको दायरामा ल्याइनुपर्छ ।
प्रियङ्का कार्कीले सुरुबाट नै छोरी जन्माउने कुराको खुलासा गरे पनि ऋचा शर्माले भने बच्चालाई जन्मदिनु भन्दा केही दिनअगाडि आफ्नो युट्युव च्यानलबाट छोराको आमा बन्न लागेको सार्वजनिक गरेको थिइन् ।
सन्तानै नहुनेलाई छोरा वा छोरी जे भए पनि सन्तान जन्माउने रहर हुनु, छोरामात्र हुनेलाई एउटा भए पनि छोरी जन्माउने रहर हुनु र छोरीमात्र जन्माउने दम्पतीलाई एउटा भए पनि छोराको रहर हुनु एकपक्षीय दृष्टिकोणबाट हेर्दा ठिक हुन सक्ला । तर छोरा पाउने लालसामा धेरै सन्तान जन्माउने साथै गर्भमा रहेको भ्रूण पहिचान गरी छोरी भएमा गर्भपतन गराउने कार्य गलत हो ।
यस्तो कार्यले महिलाको सुरक्षित मातृत्व र बच्चाको मौलिक अधिकार हनन् भएकोसमेत स्पष्ट हुन्छ । त्यसैले राष्ट्रका गहनाका रूपमा परिचित कलाकारहरूले यस्ता कार्यहरूलाई प्रोत्साहन गर्नु कतिको जायज होला ?
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउने कार्यलाई अपराध मानिएको छ । निजी स्वास्थ्य संस्थामा लिङ्ग पहिचान गर्ने र सरकारी स्वास्थ्य संस्थामा गर्भपतन गराउन जाने गरेको उदाहरणहरू व्यापक छन् ।
पछिल्लो समयमा पहिलो गर्भ छोरी भएका दम्पतीहरूले दोस्रो गर्भको लिङ्ग पहिचान गर्ने, छोरी भएमा गर्भपतन गराउने वा छोरा भए निरन्तरता दिने क्रम बढ्दो छ । गरिब, निमुखा तथा कमजोर वर्गका लागि यो नौलो भए पनि धनी र बौद्धिक वर्गका लागि यो सामान्य भइसकेको छ । अल्ट्रासाउन्ड गरेर लिङ्ग पहिचान गर्ने र गर्भपतन गराउन चाहना राख्ने धेरै हुन्छन् ।
यिनै सेलिबेटीको सिको गर्दै भ्रुण परीक्षण गराउनेहरूको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढ्न थालेको छ । यिनीहरू त केवल प्रतिनिधि पात्रहरूमात्र हुन् । नेपालमा पनि गर्भवती महिला सात–आठ महिना पुगेपछि परिवारका सदस्यबीच दही–चिउरा खाने चलन पुरानै हो । तर त्यही गर्भोत्सव संस्कारले पछिल्ला वर्षहरूमा ‘बेबी सावर’ उत्सवको नाम पाएको छ । तर सेलिब्रेटीहरूले त उक्त उत्सव बच्चा पेटमा बसेको १६ हप्तापछि लिङ्ग परीक्षण गरेर मनाउन थालिसकेका छन् ।
जागिरे दम्पतीहरू समय मिलाएर सन्तान जन्माउन चाहन्छन्, तर त्यो सन्तान छोरा नै हुनुपर्ने सोच बनाउँछन् ।अनि लिङ्ग पहिचान र गर्भपतनका लागि जायज वा नाजायज मार्ग खोज्ने गर्छन् । त्यसैले यस किसिमको गर्भपतन स्वास्थ्यभन्दा पनि सामाजिक समस्या भन्दा फरक नपर्ला । त्यसैले पनि भ्रूण पहिचान गरेर पारिवारिक दबाबमा परेर गर्भपतन गर्न बाध्य हुने परिवारहरूलाई टेवा दिन जरुरी छ ।
युएनएफपिए ले २०२१ मा गरेको एक सर्वेक्षणअनुसार नेपालमा जन्मँदाको लिङ्ग अनुपात असन्तुलन देखिएको छ । घट्दो प्रजनन दर, लिङ्ग पहिचान प्रविधिमा सहज पहुँच र छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारले गर्दा असन्तुलन देखिएको उक्त सर्वेक्षणले देखाएको छ ।