एक समयका प्रभावशाली कांग्रेस नेताहरू १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमै सीमित हुने भएका छन् । जो यसअघि कांग्रेसको पदाधिकारी भइसकेका छन् ।
कांग्रेस महामन्त्री डा.शशांक कोइराला, डा.रामशरण महत र अर्जुननरसिंह केसी केन्द्रीय सदस्यका उम्मेदवार हुने भएका छन् । यसअघि केसी र महत कांग्रेस सहमहामन्त्री भइसकेका छन् । दुवैले केन्द्रीय सदस्यको मनोनयन दर्ता गरेका छन् ।
शशांक भने केही समयपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न जाँदैछन् । उनलाई केन्द्रीय सदस्यको सूचीको पहिलो नम्बरमा राखिएको छ ।
कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । निर्वाचनबाट कांग्रेसले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।
त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ ।