काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई निमोनियाको खोप दिने तयारी थालेको छ । ७० वर्ष भन्दा माथिका नागरिकलाई २९ गतेबाट निःशुल्क निमोनियाको खोप दिने महानगरपालिकाले योजना बनाएको हो ।
२७ औँ महानगर दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, सेवाग्राही सर्वेक्षण विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित मनाउने भएको महानगर प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए ।
केटिएम दैनिकसँगको टेलिफोन सम्पर्कमा शाक्यले भने, ‘हामीले २९ गतेबाट निमोनियाको निःशुल्क खोपको सुरुवात गर्ने छौँ । कहाँबाट सुरु गर्ने भनेर छलफलमा नै छौँ । अहिले हामी खरिद प्रकियामा नै छौँ, तर २९ गतेबाट हामी खोप उपलब्ध भने गराउँनेछौं ।’
यस अवसरमा महानगरले ४० वटा बुथबाट सर्वेक्षण गर्ने बताइएको छ । कार्यक्रममा सहभागी हुनेहरूलाई निःशुल्क १० वटा मास्क दिइने र १० वटा बुथबाट कोभिड विरुद्धको खोप सञ्चालन गर्ने तयारी महानगरको छ ।
परम्परागत बाजा गुरु, कलाकार सम्मान, सुशासन पत्रकारिता पुरस्कार, कर्मचारीलाई पदक तथा अन्य क्षेत्रगत पुरस्कारहरू वितरण गर्ने महानगरको तयारी छ ।