कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो ।
उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।
के यो खोप लिएपछि फेरी कोरोना भाइरसको संक्रमण हुन्छ ?
हुन सक्छ । यो खोप लिएपछि पनि केहि व्यक्तिहरुमा कोरोना संक्रमण हुन सक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले खोप लिएपछि पनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को व्यक्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिनुपर्छ ।
के कोरोना भाइरस रोग निको भएकाले पनि यो खोप लगाउनुपर्छ ?
पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन/थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ ।