‘सैं पनि एमाले, मै पनि एमाले’गीतमा स्वर दिएकी गायिका प्रिया भण्डारी वैवाहिक जीवनमा बाँधिएकी छन् । आइतबार उनले अमेरिका बस्दै आएका पाल्पा तानसेनका प्रभात अधिकारीसँग विवाह गरेकी हुन् ।
केही समयदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । गुल्मीमा जन्मिएर बुटवलमा बसेर अध्ययनसँगै सांगीतिक यात्रालाई अगाडि बढाइरहेकी प्रियाको विवाह बुटवलको जोगीकुटीस्थित एक पार्टी प्यालेसबाट भएको हो ।
सैं पनि एमाले, मै पनि एमाले बोलको गीतमा बद्री पंगेनीसँगै स्वर दिएपछि चर्चामा आएकी गायिका भण्डारीले दर्जनौं व्यवसायिक गीतहरु पनि गाएकी छन् । तर उनको अहिलेसम्मकै लोकप्रिय गीत भने एमालेको चुनावी गीत नै हो । नेकपा विभाजनको बेला ‘एकता तोडेर नजाउ साथी हो’ भन्ने बैकुण्ठ महत र उनको स्वर रहेको गीत पनि लोकप्रिय बनेको थियो ।
पछिल्लो पटक एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सार्वजनिक भएको बैकुण्ठ भण्डारीको ‘हाम्रो नेपालमा राम्रो एमाले’ बोलको गीतमा पनि उनले स्वर दिएकी छन् । उनले बद्री पंगेनीसँगै गाएको ‘कान्छी ओइ कान्छी’ बोलको लोकदोहोरी गीतलाई पनि स्रोता-दर्शकले रुचाएका थिए ।
केही दिनअघि मात्रै सार्वजनिक भएको वैकुण्ठ महतको ‘हाम्रो नेपालमा राम्रो एमाले’ बोलको गीतमा पनि प्रियाले स्वर दिएकी छन् । प्रियालाई बधाई दिन एमालेका केही नेताहरु बुटवल पुगेका थिए ।