नेपाली कांग्रेस प्रदेश १ सभापतिमा कृष्णप्रसाद सिटौला समूहका उद्धव थापा निर्वाचित भएका छन् । आइतबार राति भएको मतगणनाको अन्तिम परिणामअनुसार थापाले रामचन्द्र पौडल निकट गुरुराज घिमिरेलाई मात्र दुई मतले उछिनेका हुन् ।
यसअघि मतगणनाको सुरुआततिर घिमिरेले लगातार अग्रता पारेका भएपनि अन्तिम मतरिणाममा थापाले बाजी जितेका हुन् । थापाले आठ सय ४४ मत ल्याए भने घिमिरेले आठ सय ४२ मत पाए ।
यस्तै, पदाधिकारीमा महामन्त्री उमेश थापा र सहमहामन्त्री रोहितकुमार साहबाहेक संस्थापन र सिटौला पक्षकै विजयी भएका छन् । दुई उपसभापतिमा टङ्कप्रसाद राई आठ सय ४७ मत ल्याउँदै विजयी भए भने रमेशजंग रायमाझीले आठ सय ९१ मत ल्याएर विजयको झन्डा गाडे ।
दुई महामन्त्रीमा आठ सय २४ मत ल्याएका भूपेन्द्र राई र आठ सय २३ मत ल्याउन सफल उमेश थापा विजयी भए । सहमहामन्त्री महिलामा प्रमिला गच्छदारले आठ सय ३७ मत प्राप्त गर्दै जित हासिल गर्दा दुई सहमहामन्त्रीमा खड्ग फागो र विनोदकुमार बस्नेत निर्वाचित भए । फागोले एक हजार २६ तथा बस्नेतले सात सय ४७ मत ल्याए ।