आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्ड बिच बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री धनञ्जय रेग्मीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात् नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरूको स्वास्थ्य तथा सामूहिक दुर्घटना बिमा लगायत सम्पत्ति तथा सवारीसाधनहरू सहित आवश्यक सम्पूर्ण निर्जीवन बिमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ ।
उक्त अवसरमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री धनञ्जय रेग्मीले पर्यटन बोर्डले नेपालमा ख्याती प्राप्त बिमा कम्पनी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आफ्नो कार्यालयसँग सम्बन्धित सम्पूर्ण निर्जीवन बिमा गर्ने गरी सम्झौता गर्न पाएकोमा आफूलाई खुसी लागेको बताए ।
त्यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले नेपाल सरकार र प्राइभेट सेक्टरको पर्यटन क्षेत्रको विकास प्रवर्धनको लागि कार्य गर्ने नेपालको एक मात्र संस्था नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बिमा सेवा प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।
श्रेष्ठले बोर्डसँग सम्बन्धित सम्पूर्ण कर्मचारी तथा सम्बन्धित संस्थाहरूलाई आवश्यक सम्पूर्ण निर्जीवन सेवा सर्व सुलभ तरिकाले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त अवसरमा श्री श्रेष्ठले निर्जीवन बिमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले सात वटै प्रदेशबाट सर्व सुलभ तरिकाले ग्राहक महानुभावहरूलाई बिमा सेवा प्रदान गरिरहेको र कम्पनीले नयाँ नयाँ बिमा सेवा सुरु गरी सरल बिमा र सहज दाबी भुक्तानीमा विशेष ध्यान दिई रहेको कम्पनी नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले केटिएम दैनिकलाई बताए ।