महिला अधिधकारकर्मीहरूले महिला हिंसाविरुद्धको १६ दिने अभियान चलाइरहेकै बेला झापाको दमक नगरपालिकामा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ । दमक नगरपालिका–१० की ४९ वर्षीया घनादेवी आचार्यको पतिको कुटपिटबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दमक प्रहरी प्रवक्ता डिएसवी नवराज कार्कीका अनुसार ४५ वर्षीय रामकुमार लिम्बु कुटपिटबाट घनादेवीको मृत्यु भएको हो । मंसिर १६ गते राकमुमारले घनादेवीलाई कुटपिट गरेका थिए ।
पतिको कुटाइबाट गम्भीर घाइते भएकी घनादेवीलाई विराटनगरको नोबेल अस्पताल लगिएको थियो । तर अस्पताल पुगेको केही समयमै चिकित्सकले उपचार हुन नसक्ने भन्दै घर फर्काउन सल्लाह दिएका थिए ।
शुक्रबार साँझ ७ बजे घर फर्किनेक्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेर थप अनुसन्धान थालेको छ ।