राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएको मतदान ४ घण्टा ढिलो सुरु भएको छ ।
निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारको नाम रुजुको काममा ढिलाइ भएकोले मतदान प्रक्रिया केही समय ढिलो भएको हो । मतदानमा ढिलाइ भएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित बनेका थिए ।
राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् ।
चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।
एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।
सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको उनले बताए । अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको हो ।
महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुनेछन् ।
पार्टी अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता, सहायक कोषाध्यक्षसहित ५० जना मनोनित गर्न पाउने राप्रपाको विधानमा व्यवस्था छ । राप्रपामा अध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन हुन लागेको पहिलोपटक हो ।