राप्रपाको एकता महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु भएको छ । अध्यक्ष पदका उम्मेदवार कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
राप्रपामा कमल थापा र लिङ्देन समूह गरी दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् ।
अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने पार्टी एकताका लागि सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्ने भन्दै कतै खुलेका छैनन् ।
अध्यक्षका दावेदार थापा र लिङ्देन दुवैले राजसंस्था र हिन्दुराज्य पुनर्स्थापना तथा संघीयता खारेजीको एजेन्डा अघि सारेका छन् ।
अध्यक्षको उम्मेद्वारी शुल्क १ लाख
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ ।
त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए ।
महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुनेछन् । पार्टी अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता, सहायक कोषाध्यक्षसहित ५० जना मनोनित गर्न पाउने राप्रपाको विधानमा व्यवस्था छ । राप्रपामा अध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन हुन लागेको पहिलोपटक हो ।
राप्रपाको एकता महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि काठमाडौँ आएका छन् । महाधिवेशनका लागि ४ हजार ५ सय ६० प्रतिनिधि काठमाडौँमा भेला भएका छन् ।
उनीहरूलाई खाना भने भृकुटीमण्डपमै बनेको मेसमा खुवाइने भएको छ ।बिहानको खानामा दाल, भात, मासु, अचारलगायत आइटम राखिएको छ भने बेलुका सादा दाल भात मात्रै खुवाइनेछ ।
लिङ्देनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लिला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । यसैगरी महामन्त्रीमा डा. धवलशमशेर राणा, रामचन्द्र तिमल्सिना र रेखा थापाले उम्मेदवारी दिने गरी लिङ्देनले नाम टुंग्याएका राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।