मंसिर कृष्ण चतुर्दशीका अवसरमा पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइएको छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ ।
बालाचर्तुदशीको अघिल्लो रात मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ।
बिहीवार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले राति १२ बजेपछि पितृको सद्गतिको कामना गर्दै शतबीज छर्नेछन्।
शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ ।
शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज छर्ने चलन छ ।
बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुनजति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।
अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा छ। यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस पितृउद्धारको उद्देश्यले पशुपति आउने गर्छन्।