नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा चुनावी माहौल तयार भइरहेको बताएका छन् । रुपन्देहीका पार्टी नेता रामप्रसाद बन्जाडे (टंकमणि)को निधन भएको सातौं दिनको पुण्यतिथीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
विभिन्न पार्टीका अधिवेशन तथा सम्मेलन सम्पन्न भइरहनुले पनि चुनावी माहोल तयार हुँदै गएको दाहालले उल्लेख गरे । उनले भने, ‘विभिन्न पार्टीका सम्मेलन र महाधिवेशनले चुनावको तयारी भइरहेको संकेत गरेको छ, चुनावको वातावरण तयार हुँदैछ, राजनीतिक स्थायित्वको लागि चुनाव आवश्यक छ, यसलाई निष्पक्ष र धाँधलीरहित बनाउनुपर्छ ।’
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गरेका छन् । पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको उल्लेख गर्दै उनले विगतमा रहेको अलमलसमेत सकिएको र आगामी दिनमा नयाँ आधारमा जनतामा स्थापित भएरै छाड्ने विश्वास व्यक्त गरे ।
मंसिर ११ गते देशभरका पालिका सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले पार्टीलाई आफ्नै खुट्टामा उभिने क्रान्तिकारी पार्टी बनाउने क्रम शुरु भइसकेको बताएका थिए । अध्यक्ष दाहालले हालसम्म केन्द्रीय कार्यालयमा झण्डै आठ लाख सक्रिय पार्टी सदस्यको नामावली प्राप्त भइरहेको र प्रक्रियामा रहेका झण्डै दुई लाख गरी १० लाख बराबरको सक्रिय सदस्य पुग्ने अवस्था देखिएको जानकारी दिए ।
माओवादी पार्टी पुनः मुलुकको पहिलो पार्टी बन्ने उल्लेख गर्दै उनले विचार, राजनीति र सङ्गठनमा रहेको अलमलसमेत अब सकिएको स्पष्ट पारे । सङ्गठनात्मक अभियानलाई क्रियाशिलताका साथ अगाडि बढाएपछि तराई मधेशदेखि हिमाली जिल्लामा समेत पार्टीप्रतिको आकर्षणमा थप वृद्धि भएको उनको भनाइ छ ।
उनले पार्टी नेता बन्जाडेको निधनले पार्टीलाई ठूलो क्षति पुगेको पनि बताएका छन् । जनयुद्धकालदेखि नै जस्तोसुकै जोखिम मोलेर पनि पार्टीको काममा अहोरात्र खट्ने बन्जाडेको विशिष्ट प्रकारको स्वभाव र शैली रहेको उनको भनाई थियो ।
बन्जाडेले परिकल्पना गरेको सहिद पार्क निर्माणको सपनालाई साकार पार्न पार्टीले पहल गर्ने भन्दै त्यो पार्कमा बन्जाडेको सालिक राख्न पनि स्थानीय पार्टीलाई उनले आग्रह गरे । मृतक बन्जाडेको जीवन समेटेर पुस्तक प्रकाशन गर्न पनि पार्टी नेताहरूलाई प्रचण्डले आग्रह गरे ।
पार्टीका जिल्ला संयोजक नारायण जिसी (निर्मल) को अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा मृतक बन्जाडेकी श्रीमती खुमा बन्जाडे, पार्टी नेताहरू चक्रपाणि खनाल, पूर्णबहादुर घर्ती तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले शोक मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष प्रचण्ड मंगलबार रुपन्देही पार्टीको आन्तरिक प्रशिक्षणमा पनि सहभागी भएको जिल्ला संयोजक नारायण जिसी (निर्मल) ले जानकारी दिए ।