ढल निर्माणमा बाधा पुर्याउने विद्युतीय पोल नहटाइदिएको ‘बहाना’ बनाउँदै झापाको कनकाई नगरपालिका–३ तुलसीबारीमा पोलमाथि नै ढलान गरी ढल निर्माण गरिएको थियो । कनकाई–३ स्थित अमरपथ सडक (झापारोड) मा ठेकेदार कम्पनी कनकाई आशिष जेभीले विद्युत् प्राधिकरणको लापरबाही देखाउँदै ढलको बीचमा पाँचवटा पोल राखेर ढलान गरी विकास निर्माणको नाममा छारो हाल्न खोजेको हो ।
विजुली पोल नउठाएका कारण पानी निकासको उद्देश्यले बनाएको ढलमा पानी निकास नै नहुनेगरी विद्युतीय पोल राखेर ढलान गरेको ठेकेदार कम्पनीले पोल उठाउन माग गरेर प्राधिकरणलाई कुनै पनि पत्र पठाएको छैन । विकास निर्माणका क्रममा बाधा पुर्याउने विद्युतीय पोल पर्न गएमा विद्युत् प्राधिकरणलाई पत्र पठाएपछि सार्ने नीति छ । ठेकेदार कम्पनीको पत्र पाएपछि प्राधिकरणले त्यस क्षेत्रको विद्युत् कटौती गरी आफ्नो जनशक्ति खर्च गरेर पोल सार्छ । जसमा ठेकेदार कम्पनीले फिल्डको अवस्था हेरेर प्रतिपोल १५ देखि २५ हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।
तर कनकाई नगरपालिकाको हकमा भने ठेकेदार कम्पनीले पोल सार्न कुनै पत्र नपठाएको विद्युत् प्राधिकरण सुरुङ्गा शाखा प्रमुख रञ्जित विष्टले जनाएका छन् ।केटिएम दैनिकले यो समस्याबारे कुरा उठाएपछि उनले फिल्ड भिजिटमा स्टाफ पठाएको बताए । ‘मैले सोमबार फिल्ड अनुगमन गर्दा तुलसीबारीमा पानी निकास नै नहुने गरी बिजुलीका पोल राखेर ढलान भएको पाइयो’, विष्टले भने, ‘हामीलाई जानकारी नै नदिई त्यसो गरेका कारण हामीले ठेकेदार कम्पनीलाई सोधेका थियौँ । यसअघि कुनै पत्र आएको छैन । तर उहाँहरूले पोलवरिपरि कमसल ढलान गरेका कारण ढलमा पर्ने पोल निकाल्न सकिने बताउनु भएको थियो ।’
ठेकेदार कम्पनी कनकाई आशिष एन्ड जेभीले पूर्वाधार विकास योजनाबाट ठेक्का पाएअनुरूप अढाइ वर्षयता ७.८ किलोमिटर सडकको दुवैतर्फको ढल निर्माण गरिरहेको छ । चारआली चोकबाट दक्षिण कनकाई–५ को उत्तर सीमानासम्म ४७ करोड लागतमा पाँच वर्षका लागि ठेक्का पाएको कम्पनीले हाल निर्माणको काम जारी राखेको छ । परियोजना सुरु गर्दा नै विद्युत् प्राधिकरण र दुरसञ्चारलाई पोल हटाइदिन अनुरोध गर्दा पनि अटेर गरेको भन्दै ठेकेदार कम्पनीले ढलको बीचमा पर्ने पाँचवटा पोललाई स्थायी रूपमा ढलान गरिदिएको थियो ।
सम्झौता सकिनेबेलासम्म पनि विद्युत् प्राधिकरणले पोल नहटाइदिँदा पोलमाथि नै ढलान गर्नुपरेको ठेकदार कम्पनीका इन्जियनियर विदूर मैनालीको दाबी छ । आफ्ना १५० जनाभन्दा धेरै मजदूरको सहयोगमा ढल निर्माणको काम गरिरहेको जनाउँदै उनले प्राधिकरणलाई आग्रह गर्दासमेत पोल नहटेपछि पोलमाथि नै ढलान गरिएको मैनालीले बताएका थिए ।
‘पूर्वाधारसँग सम्झौता हुँदै गर्दा नै पिएसका लागि १५ लाख रुपैयाँ छुट्टिएको थियो’, उनले भने, ‘जसमा पोल सार्नका लागि मात्र १४ लाख रुपैयाँ खर्च भयो । अरू तीन लाख भने ढलमा पर्ने खानेपानीका पाइप फुटाउँदा र जोड्दा लाग्यो । यसैले पनि त्यस क्षेत्रमा पर्ने विद्युतीय पोल हटाउन प्राधिकरण र दुरसञ्चारसँग भनेका थियौँ । तर उहाँहरूले अटेर गर्दा त्यसैमाथि ढलान गरेका हौँ ।’
ढलमै पोल राखेर ढलान हुँदा पानीको निकास नहुने बताउँदै उनले आफूहरू अलि हतारिएको स्वीकारे । कामदारलाई काम गराउनै पर्ने बाध्यता भएका कारण पनि आफूहरू हतारिएको उनको तर्क थियो । ‘हामीले त्यस ठाउँलाई त्यतिकै छोडेको भएपनि हुन्थ्यो’, उनले भने, ‘तर कामदारलाई खाली राख्न मिलेन । सम्झौता अवधि सकिन लागेको छ । यहाँ पाँच वटाजति पोल ढलमै परे । मास्तिरका पोल भने प्राधिकरणले सारिरहेको छ ।’ अब, पूर्वाधारले पोल सार्नका लागि थप रकम नदिएमा पोल नसारिने जनाए । पैसा दिएको खण्डमा भने क्रेन लगाएर पोल निकालिने उनको भनाइ छ ।
प्राधिकरण र ठेकेदार कम्पनीको दोषारोपणले सरकारलाई घाटा
ठेकेदार कम्पनीका ईन्जियिनर मैनालीले पूर्वाधारबाट विकासबाट थपिएर रकम आएको खण्डमा प्राधिकरणलाई दिएर ढलान गरिएको पोल उखेल्ने जनाएका छन् । पूर्वाधारले रकम नदिएमा भने सो ढलमै ढलान गरिएका पोलहरू नउखेल्ने उनको तर्क छ । ‘हामीलाई उसै पनि अपुग रकम दिइएको छ’, उनी भन्छन्, ‘अब पूर्वाधारले पैसा थपिदिएमा मात्र ती पोलहरू उठ्छन् । अन्यथा केही विकल्प छैन । ती पोल प्राधिकरणले नै उठाउनुपर्छ । हामी उठाउन सक्दैनौँ ।’
विद्युत् प्राधिकरण प्रमुख विष्ट भने आफूहरूलाई रकम आएको खण्डमा मात्र पोल उठाउने बताउँदै भन्छन्, ‘हामीलाई रकम आउनुपर्छ । हाम्रा कामदार लाग्छन् त्यहाँ । प्रतिपोल १५ हजारका दरले आएमा पोल उठ्छन् । यसमा नगरपालिकासँग समन्वय भएको छ । ठेकेदार कम्पनी र नगरपालिकाको खर्चमा पोल उठ्छ ।’ यसअघि नै पोल उठाउने विषयमा कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल र ठेकेदार कम्पनीले समन्वय भइरहेको उनको दाबी छ ।
यता, नगरप्रमुख पोखरेल भने प्राधिकरणको ढिलाइ र ठेकेदार कम्पनीलाई परेको दबाबका कारण ढलको बीचमा पोल ढलान भएको हुनसक्ने बताउँदै चाँडै नै समस्याको समाधान हुने बताउँछन् । ‘यसमा नेगेटिभिटी खोज्नुपर्ने अर्थ नै छैन, कहिलेकाँही त्यस्तो हुन्छ’, उनले भने, ‘म अहिले चितवन महाधिवेशनबाट फर्किँदै छु । तर यसबीचमा मैले दुवै पक्षसँग समन्वय गरिसकेको छु । चाँडै नै समस्या हल हुन्छ ।’
यस्तै, उनले नगरपालिकासँग पोल उठाउने खर्चका विषयमा कुरा भइनसकेको जनाए । ‘हामीबीच खर्च कसले बेहोर्ने बारेमा छलफल भइसकेको छैन । त्यति खर्चिलो पनि छैन । दुई पक्षले मिलाउँछन् । मैले समन्वय गर्ने हो । तर पनि आफ्नो नगर विकासको सवाल छ, तिर्नुपरे तिरौँला ।’