महिला हिंसासम्वन्धि १६ दिने अभियानमा १६ वटा स्टोरीहरू पस्कनेछौं । यसैमा यो छैटौं स्टोरी हो । थप स्टोरीहरू यो लिंकबाट हेर्न सक्नुहुन्छ ।
केही समयअगाडि हामीले एउटा अध्ययन गरेका थियौँ । जसक्रममा पछिल्लो समय हुने गरेको एउटा प्रतिनिधिमुलक घटना फेला पर्यो । बुटवलतिरको घटना हो । अन्दाजी ३५ वर्षको एक पुरुषले विदेशबाट फेसबुकमार्फत १७ वर्षे युवतीसँग चिनजान गर्यो । उनीहरूबीच नियमित कुराकानी हुन थाल्यो । उताबाट केटोले उपहार पठायो । त्यसपछि उनीहरूबीच अन्तरङ्ग कुराकानी हुन थाल्यो । पछि केटो नेपाल आउँदा पनि उपहार ल्याइदियो र केटीलाई एउटा होटलमा बसायो ।
तल गएर केटोले रक्सी पियो र माथि गएर सहमतिमै उनीहरूबीच शरीर साटासाट भयो । तर ती युवतीको उमेर कम भएका कारण पछि ती युवक कारबाहीमा परे । किनकि, कानुनमा आफूभन्दा कम उमेरका व्यक्तिसँग सहमतिमै यौन सम्पर्क राख्दा पनि बलात्कार ठहरिन्छ । कसैको मन्जुरीबिना करकाप, डर, धम्की वा बल प्रयोगरे जबरजस्ती गर्दामात्र होइन, आफूभन्दा कम उमेरका मानिससँग सहमतिमै यौन क्रिया गर्नुलाई पनि बलात्कारका रूपमा कानुनले अर्थ लगाउँछ ।
उनीहरूलाई जबरजस्ती गर्नुमात्र बलात्कार होइन, प्रलोभनमा पारेर सहमतिमै यौन कार्य गरेमा पनि समान उमेर छैन भने बलात्कार गरेको ठहर हुन्छ । अब, यस घटनामा केटीमा चेतनाको अभाव प्रष्ट देखियो । कसैले पनि केही पाउने आशमा अर्कामाथि लगानी गरिरहेको हुन्छ । कि त उनीहरूबीच प्रेम हुनुपर्थ्यो । कि त केटी लोभिएकी थिइन्् र ती पुरुषले त्यही प्रलोभनमा फाइदा उठाउन खोज्यो । हो, यो एउटा प्रतिनिधिमुलक घटना हो । हाम्रो समाजमा आफ्नो यौन चाहना मेट्न कम उमेरका व्यक्तिलाई प्रयोग गरिएको पाइएको छ । चाहे त्यो यौन शोषण होस् वा बलात्कार होस् । दुवै प्रकारका घटनामा बालबालिका प्रयोग हुनु भनेको फकाउन सजिलो हुने, प्रलोभनमा पार्न सकिने, करकाप गर्दा मान्न सक्ने, धम्क्याउन सकिने र उनीहरूले प्रतिवाद गर्न नसक्ने भएका कारण कमजोर आँकेर उनीहरू प्रयोग हुन्छन् ।
किशोरी उमेरमा अपरिपक्व अवस्था भएका कारण यौनका बारेमा जिज्ञासा राख्ने, विपरीत लिङ्गप्रति आकर्षित हुने हुँदा त्यसको फाइदा यौन पिशाचले उठाउन सक्ने देखिएको छ । त्यसबाहेक पिडोफेलियाजस्तो यौनसम्बन्धी रोगीले पनि बालिकासँग सम्पर्क राख्दा यो रोग निको हुने भन्ने भ्रमका कारण बालिका वा ‘भर्जिन’ किशोरी टार्गेट गर्ने उनको भनाइ छ । भर्जिन केटीसँग सम्बन्ध राख्दा मजा आउँछ यसैले पनि एकदमै परिपक्व भएका पुरुषले यौन चाहना पूरा गर्न त्यस्ता किशोरीसँग सम्बन्ध राख्छ भने त्यसलाई हामी पिडोफेलिया भन्छौँ । योचाहिँ यौन विचलनको रोग हो, त्यस्ता रोगीले आफ्नो यौन चाहना परिपूर्ति गर्नका लागि सानो उमेरका बालिका बलात्कार गर्ने क्रम बढेको हो । बालिकासँग सम्पर्क राख्दा आनन्द आउने, यौनसम्बन्धी रोग निको हुने भ्रम पलाउने भएका कारण पनि उनीहरूमाथि बलात्कारका घटना बढ्ने गरेको छ ।
हनु त यौन एउटा जैविक आवश्यकता हो । जसरी मानिसलाई गाँस, बास र आवास चाहिन्छ, त्यसरी नै यौन पनि जैविक आवश्यकता हो । यसलाई बेवास्ता गर्न मिल्दैन । महिला र पुरुष दुवैमा देखिन्छ । तर यौन शिक्षाको अभाव, अनुशासनहीनता, मादक पर्दाथ सेवन, लागुऔषध दुर्व्यसनी वा यौन रोग पनि बलात्कारका कारक तत्त्वहरू हुन् । बलात्कारका घटना न्यूनीकरण गर्नका लागि यौन शिक्षा अपरिहार्य छ । यौन शिक्षाको अभावमा पनि बलात्कारजस्तो जघन्य घटना बढेकोछ । त्यसमाथि पनि नवजात शिशु र नाबालिकामाथि हुने यस प्रकारको घटना अमानवीय, आपराधिक हो । यौन शिक्षा वा सचेतनाको आवश्यकता हुन्छ, परिवारबाट विद्यालय हुँदै विश्वविद्यालयसम्म यौनसम्बन्धी शिक्षा अति आवश्यक छ । यौनसँग जोडिएको अपराध विश्वको सबैभन्दा पुरानो घटना हो । यौन मानिससँग जोडिएकै विषय हो, यौनको चाहना सबैमा हुन्छ तर सही सदुपयोग र सही परिपूर्ति गर्न नजान्दा बलात्कार हुने हो । यौन आचरणमा बस्ने सके, नैतिक अनुशासनमा बस्न सकेमा बलात्कारका घटना घट्ने निश्चित छ ।
कानुन फित्तलो हुँदा पनि बलात्कारका घटना बढेको अर्थ लगाइन्छ । हुन पनि हाम्रो मुलुकमा कसैलाई पनि मृत्युदण्ड दिन नपाइने कानुन छ । संविधानले नै मृत्युदण्डलाई वर्जित गरेको छ । जतिसुकै जघन्य अपराध गरे पनि, जस्तासुकै नृशंस घटना गराए पनि र त्यस्ता घटनाबाट जतिसुकै व्यक्तिको हत्या गरे पनि अपराध गर्नेको बाँच्ने अधिकारको सुनिश्चितता राज्यले गर्नुपर्ने तर, निरपराध, अवोधहरूले मृत्युवरण गर्नुपर्ने असमान कानुनी व्यवस्था छ । यस प्रकारको जघन्य अपराध न्यूनीकरण गर्न संसारका प्रजातान्त्रिक मानिएका अमेरिका, भारतलगायतका मुलुकहरूले अवलम्बन गरेको मृत्युदण्डलाई अपनाइएको छ । तर मृत्युदण्ड नै उपयुक्त विकल्प होइन । अपराधीले पनि बाँच्नु पाउनुपर्ने मानव अधिकारवादी संस्थाको निष्कर्ष छ ।
मृत्युदण्ड त धेरै परको विषय भयो । यहाँ पीडकले राजनीतिक पहुँच र आर्थिक सम्पन्नता देखाएर उम्किने गरेको अवस्था छ र पीडितले सधैँभरि पीडामै बसिरहनु पर्ने बाध्यता छ । पीडकलाई कानुनको कठघरामा उभ्याउन नसकेको खण्डमा अपराधीको मनोवल बढिरहेको बुझिन्छ । यौनसम्बन्धी हुने घटना निर्मुल नै हुन गाह्रो छ । यस विषयमा सरकारको ध्यान गएमा पनि यौनिक घटनामा कमी आउने सम्भावना छ । त्यसबाहेक सामाजिक चेतना, यौन शिक्षालगायतले पनि यसलाई कमी ल्याउन सक्छ ।
(मनोविद ढकालसँग केटिएम दैनिककर्मी मीनप्रसाद शर्माले गरेको कुराकानीमा आधारित)