महिला हिंसासम्वन्धि १६ दिने अभियानमा १६ वटा स्टोरीहरू पस्कनेछौं । यसैमा यो पाँचौं स्टोरी हो । थप स्टोरीहरू यो लिंकबाट हेर्न सक्नुहुन्छ ।
क्रोको वा झुलुवामा सानो बच्चा रोइरहेको छ, एउटी ८/१० वर्षकी बालिका गीत गाएर त्यो बच्चालाई सुताउने कोसिस गर्दै छे, कहिले उसलाई तेल लगाउँछे, कुनै बेला खुवाउँछे अनि कुनै बेला ऊसँग खेलिरहेकी हुन्छे ।
बाउ रिक्सा चलाउन वा अरूको खेतमा मजदुरी गर्न गएको छ, आमाचाहिँ अरूको घरमा बनिबुता गर्न गएकी छ । घरधन्दा हेर्न र साना भाइ, बहिनालाई हेर्ने जिम्मेवारी तिनै बालिका को अबोध काँधमा छ । स्कुल जाने उमेरकी ती बालिका कुनै झर्को नमानी आफ्नो काम खुरुखुरु गरी रहेकी हुन्छे ।
ती बालिकाको ठाउँमा उसकै उमेरको कुनै बालक भएको भए उसले त्यति राम्रोसित आफ्ना साना भाइ, बहिनीको हेरचाह गर्न सक्थेन होला ? सायद बाउ बनिसकेको एउटा वयस्क पुरुषले पनि आफ्ना छोराछोरीलाई त्यसरी सम्हाल्न सक्दैन, जसरी ती अबोध बालिकाले सम्हालिरहेकी हुन्छिन् ।
कहिलेकाहीँ सहर भन्दा बाहिर गएको बेला गरिब, मजदुरहरूको बस्तीमा देखिने यो दृश्यले मलाई साह्रै अभिभूत पार्दछ । आमा बन्नु ठुलो कुरा हैन मातृ भाव हुनु ठुलो कुरा हो, आमाको गृहस्थी सम्हालिरहेका ती बालिकाहरूलाई देख्दा मलाई अनुभव हुन्छ प्रकृतिले नै हरेक नारीमा मातृत्व गुण दिएको हुन्छ । चाहे ती महिलाले बच्चालाई जन्म दिएका हुन् वा नहुन् ।
ती बालिका पनि त्यही मातृत्व गुणको उदाहरण हुन् । तर अचम्म के छ भने ती बालिका हुर्केकै समाजले उनलाई मान्छे मान्नबाट अस्वीकार गर्दछ । अर्काको चुल्हो पोत्न जाने जात” भनेर हेपिएका महिला कहिल्यै पहिलो दर्जाको नागरिकमा उक्लिन पाउँदैनन् । अझ कसैको घरमा छोरी मात्रै छन् भने यसको त छोरा छैन वंश वृद्धि कसले गर्छ ? भनेर जिब्रो टोक्ने र हेप्ने आफन्त र छिमेकीहरूले अभिभावकलाई चैनले बस्न दिँदैनन् । झन् एउटी छोरी मात्र जन्माएर अर्को सन्तान नजन्माएका र नजन्माउने निर्णय गरेका बाउआमालाई अब एउटा छोरा पाउनुपर्यो नि, छोरी त बिहे गरेर अर्काको घरमा गइहाल्छे, सम्पत्ति खान र बुढेसकालको सहाराको रूपमा एउटा छोरा चाहिन्छ नि, भनेर सल्लाह दिने र घोचपेच गर्ने तथाकथित आफन्त र छिमेकीले ती अभिभावकलाई टोकसो गरिरहन्छन् ।
समाजको काम नै हो आफ पनि चैनले नबस्ने र अरूलाई पनि बस्न नदिने । केही वर्ष अगाडि छोरीलाई पनि सम्पत्तिमा छोरा झैँ बराबर अधिकार दिने कानुन बन्यो र लागु भयो । तिनै कानुन बनाउने मध्येका एक अगुवा वकिल जसको त्यो बेला दुई वटी छोरी मात्र थिइन् । तीनले विदेश बसेर कमाएको पैसा सबै छोरीले लैजान्छन् भन्ने डरले छोरी कलेज पढ्ने भएपछि छोरा जन्माए । ती व्यक्ति राजधानीका भ्रान्त र बुद्धिजीवी मानिन्छन् ।
तर उनको बुद्धिको बिर्को भने कहिल्यै नखुल्ने गरी लागेको छ । यस्ता व्यक्तिहरू जब समाजका अगुवा पनि टोपल्छन् तब समाज रसातलमा जान्छ नै । छोरीलाई सन्तान मान्ने, बुढ्यौलीको सहारा र आफ्नो सम्पत्तिको एक मात्र वारिस मानेर त्यही अनुरूप छोरीलाई व्यवहार गर्ने मानसिकताको हाम्रो समाजमा अहिले पनि विकास भइसकेको छैन । हाम्रो धर्म पुराणमा भनिएको छ बाउआमाको मृत्युपछि छोराले गर्ने पितृकर्मीबाट ७ कूल मात्र तर्दछ भने त्यही पितृ कर्म छोरीले गरेको खण्डमा २१ कूल तर्दछ ।
यसबाट प्रस्ट हुन्छ हाम्रो धर्म, परम्परामा छोरी, कन्या वा नारीको स्थान पुरुषभन्दा निक्कै माथि छ । तर समाज र चलन परिवर्तनको कममा महिला दोस्रो दर्जाको प्राणीमा ओरालिए र आज उनीहरूले आफ्नो अधिकार माग्नुपर्ने र नदिएमा खोस्नुपर्ने भएको छ । विश्वको जनसङ्ख्या ७ अर्बभन्दा माथि छ, ती ७ अर्ब व्यक्ति नै कुनै न कुनै नारी वा आमाको कोखबाट जन्मिएका हुन् । यसबाट प्रस्ट हुन्छ समाज र विश्वमा नारीको महत्त्व ।
धार्मिक ग्रन्थमा भनिएको “यत्र नासऱ्यत्रे पूज्यते तत्र रमणे देवता” को उक्तिलाई आफ्नो मनमाफिक मोडेर समाज र पुरुषले महिलालाई मनोरञ्जनको साधन, मीठ्ठामाथि झिँगा र फूलमाथि पुतली बसे जस्तो हल्का अर्थमा लिएर त्यही अनुसार महिलासँग व्यवहार गर्दै आएका छन् । महिलाको विज्ञापनमा नचाहिँदो प्रयोग, पुरुषले पनि गर्न सक्ने रिसेप्निष्ट, एयर होस्टेस वा अन्य सार्वजनिक ठाउँमा महिलालाई दिने पद जो पुरुषलाई पनि दिन सकिन्छ त्यसले महिलाको मानमर्दन गरेको छ । वस्तुवादी बन्दै गएको समाजले महिलालाई मान्छे भन्दा वस्तुमा केन्द्रित गरेको यसबाट प्रस्ट हुन्छ ।
छोरीलाई पनि आमाले छोरालाई जस्तै त्यसैसरि नौ महिनासम्म आफ्नो कोखमा राख्छिन् र ठुलो बेथा सहँदै जन्माउँछिन् । छोराले असर्फीको थैली लिएर जन्मिँदैन न जन्मिने बित्तिकै काम गरेर पैसा कमाएर ल्याउँछ । छोरालाई पनि हुर्काउन, पढाउन आमा बाउले त्यतिकै मेहनत र खर्च गर्नु पर्दछ जति छोरीमा गरिन्छ । पछिल्ला केही राम्रा उदाहरणहरूले के देखाएका छन् भने छोरीमा बाउआमाले गरेको लगानीले छोराभन्दा शतप्रतिशत प्रतिफल दिन्छ । त्यो लगानी भनेको माया, स्याहार, शिक्षादीक्षा र अन्य खर्चको रूपमा हो ।
छोरी जति बाउआमाको नजिक हुन्छन् त्यति कमै छोराहरू हुने गरेका छन् । छोरीलाई सन्तान नमान्ने, एउटै छोरी जन्माएकाहरूसँग निसन्तान जस्तो व्यवहार गर्ने यो परिपाटी साह्रै उदेक लाग्दो छ । अझ मदेसमा त कसैको छोरी मात्र छ र उ बिहा गरेर गइसकेकी छ भने उसको बाउआमाको सम्पत्तिमा भाइ भतिजाले आँखा लगाउने गर्दछन् । त्यसकालागि मारकाट गर्ने र अदालत सम्म जान डर र लाज मान्दैनन् छोरीलाई सन्तान नमान्नेहरू । हाम्रै समाजमा महिला मन र शरीरले ननिभ्ने गरी जलाइन्छन्, यहीँ बोक्सीको निहुँमा मानव मलमूत्र खुवाएर आफ्नो थातथलोबाट महिलालाई निकालिन्छ, एउटी कोपिला जस्ती बालिका फूल बनेर फक्रिन नपाइ कसैको कामुकताको सिकार हुने गरेका छन् ।
त्यो बेला न राज्यले तीनलाई साथ दिन्छ न आफन्तले । अशिक्षा र अन्धविश्वासमा रुमलिएको हाम्रो जस्तो अविकसित समाजले न छोरीलाई सन्तान मान्छ न राज्यले पहिलो दर्जाको नागरिक नै मान्छ । राज्य महिलाको नाममा आरक्षण दिएर आफू पन्छिएको छ । मात्र १६ दिनसम्म महिला हिंसा विरुद्धको अभियानको नारा दिएर ठुलठुला तारे होटेलमा सभा, सेमिनार गरेर हुन्छ ?
यो १६ दिन त महिला अधिकारकर्मी र गैरसरकारी तथा, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका पुरेतनि बनी टोप्लेका महिलाहरूले पिण्ड खाने मात्र हुन् । अब जति ठुलो पिण्ड हुन्छ तिनले महिलाको पीडालाई त्यति नै बढी भजाएर खान्छन् ।
महिलाको १६ श्राद्ध गर्या जस्तो यो १६ दिने अभियानको के महत्त्व ? जब समाजका कुसंस्कार, महिला विरुद्धको भेदभाव, छोरीलाई सन्तान नमान्ने अर्घेलो समाज र पुरुषवादी निकृष्ट सोचको श्राद्ध गरेर संधैका लागि पिण्ड दान नगरेसम्म नै महिला हिंसा विरुद्धको अभियान १६ सय वर्षसम्म मनाए पनि रत्तिएर केही हुनेवाला छैन ।
क्राइम चेक साप्ताहिकमा प्रकाशित