नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेका छन् ।
सौराहमा जारी बन्दसत्रमा ओलीले अबेर राति ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् ।
उनले बन्दसत्रको हलभित्र महाधिवेशन प्रतिनिधिहरूका अगाडि सुरूमा ३०० जनाको नाम पढेका थिए। तीमध्ये १०१ जना महिला थिए। सबै नाम पढेपछि ओलीले भने, ‘मेरो नाम मात्र पढ्न बाँकी छ। म के गरूँ?’ उनले यसो भनेपछि हलले जोडसँग ताली बजायो। त्यसपछि ओलीले आफ्नो नाम लिए।
उनले सबै नाम पूरा गरेपछि हलले ताली बजाएर स्वागत गरेको थियो। नाम नपर्ने केहीले भने हुटिङ पनि गरेका थिए। केही असन्तुष्टहरू हुटिङ गर्दै मञ्चमा उक्लिन खोजेका थिए। ओलीले तिनलाई ‘मञ्चमा नआउनुस्’ भन्दै हप्काए।
बन्दसत्रमा उपस्थित प्रतिनिधिकाअनुसार अध्यक्ष ओलीले महिला, मधेसी, जनजाति, दलित सबै कलस्टर मिलाएर सर्वसम्मत नेतृत्वका लागि केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् । ‘अध्यक्ष ओलीले ३०१ जनाको नाम पढेर सुनाउनुभयो । कसैले विरोध गरेको छैन,’ एक प्रतिनिधिले भने ।
नामावलीमा छुटेका पुराना साथीलाई सल्लाहकारमा समेटिने अध्यक्ष ओलीले प्रतिबद्धता जनाएका थिए । पहिलो दिनको बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय समितिमा सर्वसम्मत गर्न नामावली छनोट गरेर प्रस्तुत गर्ने अधिकार दिएको थियो ।
यता केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका घोषणा गरिसकेको छ ।
३०० जनाको नाम पढेपछि उनले भने, म चाहिँ छुटेँ, के गरौं । म पनि केन्द्रिय कमिटीमा पर्छु होला ?’ नेकपा एमालेको १० औं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्ताव भएको केन्द्रीय सदस्यको सूची अनुमोदन गरेको छ । सोमबार विहान पौने १ बजे महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूची अनुमोदन भएको हो ।
आफूले प्रस्ताव गरेको नामावलीमा असहमत हुनेलाई प्रक्रिया (निर्वाचन)मा जान ओलीले सुझाव दिएका छन्। ओलीले केन्द्रीय कमिटीमा नअटाएका (छुटेका)हरुलाई अन्त व्यवस्थापन गरिने पनि आश्वासन दिएका छन्।
बन्दसत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी विभाजन गरेको सङ्ख्यामा प्रत्येक प्रदेशबाट छ खुला तीन महिला गरी नौ जनासहित सात प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने तय गरिएको छ ।
उपत्यका विशेष समन्वयबाट एक खुला, एक महिला गरी दुई सदस्य, सम्पर्क समन्वयबाट एक खुला, एक महिला गरी दुई सदस्य, आदिवासी जनजातिबाट १७ खुला र आठ महिला गरी २५ सदस्य, तराई मधेशबाट १३ खुला र छ महिलासहित १९ सदस्य, दलित समुदायबाट आठ खुला, चार महिलासहित १२ सदस्य, थारू समुदायबाट पाँच खुला, दुई महिलासहित सात सदस्य ।
त्यस्तैगरी मुस्लिम समुदायबाट चार खुला, एक महिलासहित पाँच सदस्य, श्रमिक क्षेत्रबाट चार खुला, दुई महिलासहित छ सदस्य, पिछडिएको क्षेत्रबाट तीन खुला, एक महिलासहित चार सदस्य, खुला क्षेत्रबाट ८४ खुला ५३ महिलासहित १३७ सदस्य, केन्द्रीय आयोगहरूमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १३ खुला र नौ महिलासहित २५ सदस्य निर्वाचित हुनेछन् ।