काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई काठमाडौँको माछापोखरी बस्ने प्रकाश खाती, दोलखा घर भई बूढानीलकण्ठ बस्ने राजकुमार तामाङ र तनहुँ घर भई हाल रानीबारी बस्ने हरि परियार रहेका परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।
पहेँलो कछुवा अबैधरूपमा बिक्री गरिरहेको भन्ने जानकारीका आधारमा शनिबार साँझ खोजतलासमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूका विषयमा प्रहरी वृत्त कालीमाटीमा प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले जानकारी दिए ।
यसअगाडि केटिएम दैनिकमा पहेँलो कछुवा सम्वन्धि प्रकाशित समाचार
जनकपुरमा फेला पर्यो सुनको कछुवा
प्रकाशित मिति : शुक्रवार, साउन ३० २०७७
प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन्। सन् २०१८ को अप्रिल १४ का दिन पहिलो पल्ट यो देखिएको थियो।
यस कछुवाको वैज्ञानिक नाम लिसाइमा पौङ्टाटा एन्डरसोनी हो। यस प्रजातिको कछुवाको प्रायजसो रङ हरियोमा केही पहेँला धब्बा भएका हुन्छन्। नयाँ फेला परेको कछुवा पूरै सुनौलो रङको छ। त्यसैले यसको नेपाली नाम नै सुनौलो कछुवा भनेर राखिएको छ ।
सन् २०१८ को अप्रिल १४ का दिन बिहान जनकपुरमा यो कछुवा पहिलोपल्ट देखिएको थियो। सर्प प्रजातिको अध्ययन गर्ने क्रममा अध्येता कमल देवकोटा, देवनारायण मण्डल सहितका टोलीले कछुवा फेला पारेको हो ।
अप्रिल महिनायता तराईमा सर्पको बिगबिगी हुनेगर्दछ। पूरै सुनौलो रङको कछुवाको विश्वव्यापी अध्ययन गर्न र पुष्टि गर्न भने दुई वर्ष समय लागेको देवकोटाले स्पष्ट पारे ।
आईयूसीएनका अनुसार यो कछुवा सामान्य जोखिमको वर्गमा छ तर अन्तर्राष्ट्रिय व्यापार कन्भेसन्सले भने यो अवैध व्यापारको खतरामा रहेको जीवको प्रजातिमा रहेर संरक्षण प्रदान गरेको छ। निकै सुन्दर देखिने कछुवा वातावरणमा सुरक्षित हुन कठिन हुने बताइन्छ। नेपालमा १७ प्रजातिका कछुवा पाइन्छन् ।