महिला हिंसासम्वन्धि १६ दिने अभियान हामीले १६ दिन महिला हिंसा सम्वन्धि १६ वटा स्टोरीहरू पस्कनेछौं । यसैमा यो चौथो स्टोरी हो । थप स्टोरीहरू यो लिंकबाट हेर्न सक्नुहुन्छ ।
समाज शिक्षित हुँदा पनि महिला हिंसा यथावत छ । अझ समाज जति–जति शिक्षित हुँदै जान्छ । उति नै महिला हिंसा बढेको तथ्याङ्क सार्वजनिक भइरहेको अवस्था छ । हो, समाजलाई सचेत बनाउन र समाज परिवर्तन गर्न शिक्षा अपरिहार्य छ । शिक्षाले ज्ञान दिन्छ, शिक्षाले सीप दिन्छ । तर शिक्षाको समग्र पाठ्यक्रम कस्तो छ भन्ने कुराले अर्थ राख्छ । बालबालिकाबाट सुरु भएको शिक्षा विद्यालय हुँदै विश्वविद्यालयसम्म पुग्दासम्म महिला सुरक्षा र यसबाट बच्ने उपाय, महिला हिंसा र महिला अधिकारका कुराहरू शिक्षामै समेटिनुपर्छ ।
अहिले राज्यले दिने संस्थागत वा विद्यालय/विश्वविद्यालयको शिक्षाभन्दा पारिवारिक शिक्षा नै महत्त्वपूर्ण हुन्छ । बालबालिका हुँदादेखि नै महिला हिंसा, छोरा–छोरीबीचको विभेदका विषय, समानताका कुरामा परिवारले प्राथमिकता दिनु नै महत्त्वपूर्ण हुन्छ । पछिमात्र आउँछ विद्यालयस्तरको शिक्षा । विद्यालयस्तरको शिक्षामा हिंसाको पाठ्यक्रम खोज्नुभन्दा पनि परिवारले आफ्ना सन्तानलाई यसबारे शिक्षा दिनु आवश्यक छ । हो, महिला हिंसा शिक्षाको अङ्ग बन्न सकेन । यसबारे सरोकारवाला निकायको ध्यान जान आवश्यक पनि छ । तर शिक्षाको पहिलो खुड्किलोको रूपमा रहेको परिवारमा सन्तानलाई समानता वा हिंसाका कुरामा सिकाउन जरुरी छ ।
परिवार पहिलो शिक्षालय हो । परिवारले विभेद वा घरेलु हिंसाबारे आफ्ना सन्तानलाई शिक्षा दिन आवश्यक छ । त्यसपछि विद्यालय र विश्वविद्यालयमा यस्तो प्रकारको शिक्षा समावेश गर्न आवश्यक छ । छोरीले सहनुपर्छ वा अनेकन पीडा स्वीकारेर अगाडि बढ्नुको विकल्प छैन भनेर परिवारमा शिक्षा दिँदा पनि उनीहरू हिंसा सहन बाध्य छन् । एउटी बालिकाले आफ्नी आमा भोकै बसेर अरूलाई खुवाएको देख्छिन् र त्यस्तै प्रकारको ज्ञान लिन्छिन् । यो हटाउन जरुरी छ । समानताको सुरुआत आफैँबाट र आफ्नै परिवारबाट गर्न आवश्यक छ ।
हरेक कुरामा सरकार वा सम्बन्धित निकायलाई मात्र दोषी देखाउनु ठिक होइन । पहिलो प्रारम्भ नै परिवारबाट हुनु आवश्यक छ । महिला अधिकारका कुरा, सुरक्षा, समानताका कुरा परिवारबाट नै सुरु हुनु आवश्यक छ । शिक्षित समाजमा पनि हिंसा हुन्छ । तर शिक्षित व्यक्ति शिक्षासँगसँगै आफ्नो अधिकारप्रति सजग हुन्छ । पुरुष होस् वा महिला होस् । जो कोही शिक्षित आफूविरुद्ध भएका हिंसाहरू उजागर गर्न डराउँदैनन् । यसकारण पनि शिक्षित समाजमा हिंसाका घटनाहरू बढेको देखिन्छ । अशिक्षित व्यक्तिले आफूमाथि भएका हिंसा लुकाउने पक्का थियो । बाहिर प्रकाशमा आउँदैन थियो । मिडियामा आउँदैन थियो । यसले झन् धेरै हिंसा हुन्थ्यो ।
तर शिक्षित व्यक्तिले मिडिया बुझेका छन्, बाहिर कसरी खुल्ने भन्नेबारे बुझेका छन् । यस कारण पनि हिंसाको घटनामा वृद्धि भएको हो । हो, संस्थागत शिक्षा वा औपचारिक शिक्षाले हिंसाको पाठ्यक्रम समेट्न सकेन । हिंसाबारे कुनै कक्षामा पनि पढाइ हुँदैन । तर यी दुवै शिक्षाको तुलनामा पारिवारिक शिक्षा हिंसा रोकथाममा अब्बल साबित हुन्छ । त्यसबाहेक हिंसाबारे बोल्ने अभियान वा अभियन्ताले हिंसा पीडितका बारेमा बोलिदिँदा उनीहरूलाई राहत महसुस भएको बुझ्न सकिन्छ ।
शिक्षाले नै बढायो दाइजो
दाइजो एक कुरीति हो । तर कुरीति हुँदाहुँदै पनि दाइजो संस्थागतका रूपमा छ । शिक्षितहरूले झन् बढी दाइजो माग्ने गरेका छन् । एउटा अध्ययनले यस्तो देखाएको छ । शिक्षाले दाइजो माग्ने क्रम घटाउनुपर्ने हो । तर शिक्षामा गरेको लगानी दाइजोमार्फत असुलउपर गर्ने अभ्यास छ । पछिल्लो समय दाइजो लिनेहरूले शिक्षामा गरेको लगानी दाइजोमार्फत उठाउने गरेका छन् । मेरो छोरालाई डाक्टर बनाउँदा वा ईन्जिनियर बनाउँदा यति धेरै खर्च भएको छ, अब छोराको बिहेमा दाइजो लिइ यसको भरपाइ गर्छु भन्ने दाउमा हुन्छन्, शिक्षित समुदाय । यसैले पनि शिक्षितहरूले यसलाई बढावा दिँदै गरेको अवस्था छ । शिक्षाले उल्टै दाइजोप्रथा बढाएको प्रष्ट छ ।
बरू शिक्षाले जातपात र त्यसले निम्त्याएको हिंसा निर्मुल पार्न सहयोग गर्दै छ । जातको कुरा सामाजिक वा कानुनी रूपमा पातलिँदै गरेको छ, धुलमिल हुँदै छ । यसमा दुईमत छैन । तर एउटा पुस्ता अहिले पनि त्यही अवस्थामा छ जुन अवस्थामा जाति व्यवस्थालाई मलजल गरिएको थियो । त्यसपछि दोस्रो पुस्ता केही सहज हुँदै गएको छ र तेस्रो पुस्ताले भने जात व्यवस्थालाई प्रश्न उठाउन थालेको छ ।
तर त्यही परम्परा र त्यही संस्कृतिबाट हुर्केर आएको पुस्ता र जात व्यवस्थाविरुद्ध प्रश्न गरिरहेको पुस्तालाई दोस्रो पुस्ताले सहजीकरण गरिरहेको अवस्था छ । हुन त यसमा आर्थिक सक्षमता भर पर्छ । कोही आर्थिक रूपमा सबल भएको खण्डमा उसले दमन खप्दैन वा जात व्यवस्थाकै कारण हुने हिंसा सहँदैन । आर्थिक रूपमा सक्षम भएको मानिसलाई हिसामा पर्ने अवस्था आउँदैन । आफूमाथि हिंसा आउने अवस्था देखिए, थिचोमिचो वा दमन गर्न खोजेमा स्वतन्त्रता खोज्दै त्यसको विरोधमा उत्रिन्छ । तर आश्रित व्यक्ति दमन खप्न बाध्य छ ।
संरचना भत्किन जरुरी
महिला अधिकारकर्मीले पितृसत्ताको विरोध गरिरहँदा उहाँहरूले मातृसत्ताका माग गरेको होइन, बरु समानता खोजेको हो । निर्णय प्रक्रिया, शिक्षा र अवसरमा समान हक होस् भन्ने उहाँहरूको माग हो । असमान व्यवहार भएमा एउटा वर्ग पछि पर्छ नै र अहिले हाम्रो समाजमा महिलालाई पछि पार्ने संरचना बन्यो । त्यो भत्काउन जरुरी छ, त्यसमा परिवर्तन हुन जरुरी छ । संरचना भत्काउन पनि रिवारिक शिक्षा महत्त्वपूर्ण हुन्छ । विभेद निर्मुल पार्न परिवारले उल्लेख्य भूमिका निभाउन सक्छ । लैङ्गिक विभेद कायमै रहँदा महिला हिंसा बढ्दो छ । तथापि, महिला हिंसा पुरुषबाट मात्र हुन्छ भन्ने हुँदैन । महिलाबाट महिला नै हिंसाको सिकार बन्नु परेको घटनाहरू बाहिरिरहेको अवस्था छ ।
हिंसाको अवस्थासम्म पुग्ने वातावरण कसरी भयो, त्यो महत्त्वपूर्ण कुरा हो । उहाँमा भएको कमी, अभाव वा उहाँले भोगेको परिस्थिति नै कारक बन्यो कि ! त्यो महत्त्वपूर्ण छ । महिला हिंसा प्रायः घरमै हुन्छ । हिंसाका विभिन्न स्वरूप छन्, कुटेर, बोलेर वा ब्यवहारबाट हिंसा हुन्छ, बञ्चित गराएर हिंसा हुन्छ ।
छोरीलाई हुर्काउनेक्रममा वा समाजीकरण गर्नेक्रममा हामी उनीहरूलाई भन्छौँ– ‘तिमी छोरी हौ, तिमीले सहनुपर्छ । आँसु देखाएर अरूलाई हसाउन हुँदैन ।’ यी भावनात्मक हिंसा हो । जसले परिवारमा हिंसा देख्दै आएका छन् र एडजस्ट गरेको अभ्यास छ, उनीहरू जस्तोसुकै हिंसा स्वीकार्न तयार हुन्छन् । यसले पनि उनीहरू हिंसामा बाँच्न, हिंसालाई स्वीकार्न बाध्य हुन्छ । तर सानैदेखि छोरीलाई निडर भएर आफूमाथिको दबाब, प्रभावबारे खुलेर बोल्न सिकाउँदा पछि हुनसक्ने हिंसा बाहिर ल्याउन सहजीकरण हुन्छ । यसैले पनि हिंसा निर्मुल पार्न, हिंसा बाहिर ल्याउन र हिंसाबाट जोगि पारिवारिक शिक्षाको भूमिका महत्त्वपूर्ण छ ।
(विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्यापनरत डाक्टर चन्द्र उपाध्यायसँग केटिएम दैनिककर्मी मीनप्रसाद शर्माले गरेको कुराकानीमा आधारित)