देशकै सबभन्दा पुरानो इतिहास बोकेको पार्टी नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पर्सामा अधिवेशन गराउन आएका मुख्य निर्वाचन अधिकृत नरेन्द्र केसीले अधिवेशनलाई पैसा कमाउने अवसरको रूपमा लिएर पदीय दायित्व र मर्यादा विपरीतका कार्यहरू गरिरहेका कारण पर्साका काँग्रेसीहरू आक्रोशित भएका छन् ।
पार्टीको विधान बमोजिम वडा स्तरीय अधिवेशन सम्पन्न गराएर नगर/महानगर/पालिका स्तरीय अधिवेशन गराउनु पर्नेमा प्रमुख निर्वाचन अधिकृत केसीले नेपाली काँग्रेस भित्र छिरेका केही धनपति, डन र माफियाहरूसँग साँठगाँठ गरी पालिका स्तरको निर्वाचन स्थगित गरी प्रदेश स्तर र केन्द्रीय महाधिवेशन प्रतिनिधिको चुनाव गराउन होमिएका छन् ।
पर्सा जिल्लाको इतिहासमा जिल्ला अधिवेशन दुई चोटि रद्द भए पनि नगर अधिवेशन भने कहिल्यै रोकिएको थिएन तर प्रमुख निर्वाचन अधिकृतको अकर्मण्यता, गैरजिम्मेवारीपूर्ण व्यवहार र मुद्रामुखी शैलीका कारण इतिहासमै पहिलो चोटि नगर अधिवेशन स्थगित हुन गएको काँग्रेसीहरू बताउँछन् ।
नेपाली काँग्रेस भित्र छिरेका केही धनपति, डन र माफियाहरूसँग साँठगाँठ गरेर नेपाली काँग्रेस पर्साको अधिवेशन र निर्वाचनलाई पैसा कमाउने अवसरको रूपमा प्रयोग गरिरहेका प्रमुख निर्वाचन अधिकृत केसीले नियम कानुनको धज्जी उडाउने, तराइको जिल्ला नेपालको प्रमुख प्रवेशद्वार यहाँ अन्तर्राष्ट्रियकरण माफिया, तस्कर, डन संलग्न छन्, तिनीहरूकै स्वार्थ र डिजाइन अनुसार पार्टीको विधि, नीति र विधान विपरीत कार्य गरी शनिवार निर्धारण गरिएको प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिको नोमिनेशन अर्थात् उम्मेदवारी मनोनयन पत्र दर्ता समेतमा मनोमानी ढङ्गले समय सीमा सकिए पछि पनि दर्ता गरिरहेका छन् ।
पर्सामा पहिलो चोटि निर्वाचन गराउन आएका पर्यवेक्षकले विगतमा यस्तै गैर संवैधानिक र आचरण विपरीत कार्य गर्दा पिटाइ खाएर भागेपछि दोस्रो चोटि आएका पर्यवेक्षकले निर्वाचन गराउनु परेको इतिहास छ । यतिखेर प्रमुख निर्वाचन अधिकृतको क्षुद्र र अति स्वार्थी व्यवहारबाट पर्साका इमानदार र न्याय प्रेमी काँग्रेसीहरू रुष्ट र आक्रोशित देखिन्छन् । जसले गर्दा विगतमा जस्तै जुन सुकै बेला पनि भौतिक आक्रमणको चपेटामा पर्ने सक्ने सङ्केत समेत देखिन्छ ।