नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो ।
बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् । केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् । बन्द सत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाइने कार्यक्रम छ ।
बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।
सर्वसम्मत हुनुपर्छ भन्दै नारावाजी
सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले, जिन्दावाद’ लगायतको नारा लगाइएको छ ।
वडा र पालिकास्तरमा नेतृत्व चयनमा सर्वसम्मति गरेको एमालेले केन्द्रीय नेतृत्वमा पनि सर्वसम्मतिबाटै चयन गर्नुपर्ने महाधिवेशनमा सहभागी केही प्रतिनिधिको धारणा छ । नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरेकाले महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।