नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन्। चितवनमा जारी दसौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘समुन्द्र पनि हाम्रो हो, अन्तरिक्ष पनि हाम्रो हो। भू–उपग्रह अन्तरिक्षमा पठाएका छौं। जमिनमुनि तार बिछ्याउने काम गरेका छौं।’
उनले थपे, ‘समुन्द्रमा हामी पुगिसक्या छैनौं। साथीहरुलाई स्मरण गराउन चाहन्छु, धर्तीको अरबिट छेडेर सानो भू-उपग्रह अन्तरिक्षमा पठाएका छौं। त्यसमा सफलता पाएका छौं। अब ठूलो उपयुक्त साइजको भू-उपग्रह हामी अन्तरिक्षमा पठाउनेछौं।’
उनले संविधान संशोधन गर्ने संकेतसमेत दिए। उनले नेपाली जनताले बनाएको संविधान आवश्यकताअनुसार संसोधन हुने बताए। उनले आफ्नो पार्टी अब चुनावमा केन्द्रीत हुने बताए। त्यसका लागि अन्य पार्टीलाई जनतामा जान आह्वान गरेको तर उनीहरु त्रसित भएको उनले बताए।
उनले छोटो समयमा नेपाललाई समृद्ध राष्ट्र बनाउने अभिभारा रहेको बताउँदै लोकतन्त्रको रक्षाका लागि, संविधानको गलत व्याख्या सच्चाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे।
उनले एमालेका लागि एकल बहुमतको जरुरी रहेको बताए। ‘एमालेलाई बहुमत हैन, देशका लागि बहुमत चाहिएको हो। लोकतन्त्रको रक्षा, संविधानको रक्षाका लागि, नेकपा एमालले बहुमत ल्याउनुपर्छ। विकासको लहर ल्याउनका लागि बहुमत चाहिएको हो,’ उनले भने।
उनले एमाले नेपालको राजनीतिक, आर्थिक, सामाजिक समस्या समाधान गर्न सदैव कटिबद्ध रहेको बताए। उनले सम्बोधनको क्रममा भने, ‘नेपालको सबैभन्दा ठूलो पार्टी, सेन्टिमेन्टल कुरा होइन। वास्तविकरुपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ भनेर व्यवहारिक कार्यान्वन गर्ने पार्टी हो एमाले।’
उनले एमाले अब चुनावको तयारीमा रहेको बताउँदै भने- ‘तपाईँहरुले छानेर पठाएका प्रतिनिधि गैरजिम्मेवार छैनन्। अत्यन्तै जिम्मेवार छन्।’