महिला हिंसासम्वन्धि १६ दिने अभियान हामीले १६ दिन महिला हिंसा सम्वन्धि १६ वटा स्टोरीहरू पस्कनेछौं । यसैमा यो दोस्रो स्टोरी हो । थप स्टोरीहरू यो लिंकबाट हेर्न सक्नुहुन्छ ।
मोरङको उर्लाबारी नगरपालिका–८ दुर्गापुरी माइती भइ सुन्दरहरैँचा–८ सलकपुरका विनोद काफ्लेसँग बिहे गरेकी २१ वर्षीया रोजिना गिरी (काफ्ले) को शव गत असोज ३ गते आइतबार बिहान ७ बजेतिर उनकै कोठामा भेटियो । त्यसपछि इलाका प्रहरी कार्यालय बेलबारीले शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर सुक्ष्म अनुसन्धान थाल्यो ।
माइतीपक्षले प्रदर्शन गर्दै अनुसन्धानलाई निष्पक्ष र तीव्र बनाउन माग गरेपछि प्रहरीले काफ्ले र गिरी दुवै परिवारका साथै छिमेकीलगायतसँग सोधपुछ गर्दै अनुसन्धान अगाडि बढायो । त्यसबीचमा प्रहरीसमक्ष आइपुगेको पोस्टमार्टम रिपोर्टले पनि रोजिनाले आत्महत्या ठहर गरेपछि प्रहरी पनि हत्या नभइ आत्महत्या नै हो भन्ने निर्णयमा पुग्यो ।
त्यसबीचमा बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको प्रहरीले उनलाई आत्महत्या गर्न बाध्य पारिएको ठहर गर्दै विनोदसहित उनका दाजु–भाउजू र आमाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गर्यो । ‘हामीले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेका थियौँ तर विनोदमाथि मात्र मुद्दा चल्यो’, प्रहरी निरीक्षक खनालले केटिएम दैनिकसँग भने, ‘विनोद पनि तीन लाख धरौटीमा छुटे । माइतीपक्षले पनि रोजिनाको अन्त्येष्टि गर्यो ।’ विनोदका दाजु गणेश काफ्ले, विनोदकी भाउजू र आमाविरुद्ध प्रहरीले जिल्ला अदालत मोरङमा मुद्दा चलाएको भएपनि परिवारका अन्य सदस्यमा मुद्दा नलाग्ने भन्दै विनोदविरुद्ध मुद्दा दर्ता भएको उनले सुनाए ।
तर विनोदविरुद्धको मुद्दा पनि धेरै दिन चलेन । पक्राउ परेको दुई दिनमै कात्तिक ५ गते उनी तीन लाख धरौटीमा रिहा भए । विनोद रिहा भएपछि रोजिनाको माइतीपक्ष पुनः असन्तुष्ट बनेको छ । सोमबार (अस्ति) मात्र रोजिनाका माइतीपक्षले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको छ । ‘प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि विनोद दुई दिनमात्र हिरासतमा बसे’, रोजिनाकी सानिमा रमिला गिरी भन्छिन्, ‘सरकारी वलिकहरूले विनोद जेल चलान हुने भनेर हामीलाई आश्वासन दिनुभएको थियो । तर उनी दुई दिनमै छुटे । न्यायालय किन यति सस्तो ?’ परिवारको मान–मर्यादाअनुरूप नै घर सम्हालेर बसेको भएपनि रोजिनालाई अनेकौँ आक्षेप लगाएर आत्महत्या गर्न बाध्य पारिएको रमिलाको आरोप छ ।
दुवै परिवारको अनुमति नपाएपछि विनोद र रोजिना गिरीले २०७७ साल असारमा भागी विवाह गरेका थिए । आफ्नो जन्मघर त्यागेर विनोदप्रति समर्पित रोजिनाले उनै विनोदको कारण ज्यान गुमाउनु परेको हो । आफ्नो परिवारसँग मिलेर फोनमार्फत उनलाई टर्चर दिइराख्ने विनोदका कारण रोजिना आत्महत्या गर्न बाध्य भएको रमिला बताउँछिन् ।
यो एउटा प्रतिनिधिमुलक घटनामात्र हो । पछिल्लो समय प्रेमीका लागि आफ्नो जन्मघर त्यागेका महिलामाथि नै हिंसा हुनेक्रम बढ्दो छ । प्रेमविवाह गरी जन्मघरलाई बिदा गर्दा पनि कहिले जात र कहिले परिवारकै कारण देखाएर महिलामाथि हिंसा भइरहेको छ । कतै कुटपिटदेखि हत्यासम्म, कतै भावनात्मक हिंसासहित आत्महत्या दुरुत्साहनसम्म हुने गरेको छ ।
त्यसबाहेक पनि प्रेमविवाह गरेको केही समयपछि परिवारको आर्थिक अवस्था सुधार गर्नका लागि वैदेशिक रोजगारीमा जाने र उतै हराउने परिपाटी बढेको छ भने कतै विवाह गरेको केही समयपछि नै आपसी तालमेल नमिलेको बताउँदै सम्बन्ध विच्छेद गर्नेक्रम बढ्दा प्रेमका लागि आफ्नो जन्मघर छोड्न सक्ने ‘साहसी’ महिला पुरुषबाट भावनात्मक हिंसामा पर्ने समाजशास्त्री डाक्टर चन्द्र उपाध्याय बताउँछन् । आत्महत्या निम्तिनुमा मानसिक रोग नै प्रमुख कारण भएपनि दुरुत्साहनले अझ बढी आत्महत्यालाई बढावा दिएको उनको भनाइ छ ।
‘शङ्का–उपशङ्का, लान्छना, टर्चर, दुर्व्यवहारका कारण मानिस डिप्रेसनमा जानसक्छन्, यसले पनि आत्महत्या बढाउँछन्’, उनले केटिएम दैनिकसँग भने, ‘तर आत्महत्या अन्तिम बिन्दु हो । यसबाट जोगिन सबैभन्दा सुरुमा आफैँलाई सुधार्न जरुरी छ । आत्महत्याभन्दा बाहेकका पनि अरू धेरै उपाय छन् भनेर आफूलाई बुझाउन सक्नुपर्छ ।’
विवाहित महिलाका लागि आत्महत्याबाट जोगिने प्रमुख उपाय ‘डिभोर्स’
विवाहित महिलाको हकमा भने आत्महत्या गर्ने मनसायमा पुग्नुअघि सम्बन्धविच्छेद सबैभन्दा राम्रो विकल्प भएको डाक्टर उपाध्याय बताउँछन् । सम्बन्धविच्छेद महिलाका लागि भावनात्मक हिंसा नभइ आत्महत्याजस्तो डरलाग्दो अवस्थाबाट बच्ने एउटा प्रमुख विकल्प भएको उनको भनाइ छ । यसअघि सम्बन्धविच्छेद गर्ने उपाय नहुँदा धेरै महिलाहरू हिंसा सहन बाध्य भएका थिए । तर डिभोर्सको विकल्प आइसकेपछि धेरै महिलाले आत्महत्या, डिप्रेसनजस्ता अवस्थाबाट जोगिन सम्बन्धविच्छेदको विकल्प रोज्न थालेको उनी बताउँछन् ।
‘घरेलु हिंसामा परेमा वा आफन्तबाटै शोषित् हुनुपरेमा सम्बन्धविच्छेद गरेर त्यस्ता समस्याबाट उन्मुक्त हुन सकिन्छ, यो एउटा राम्रो विकल्प हो’, उनी भन्छन्, ‘हिंसा खपेर अगाडि बढ्नु वा मनमा आत्महत्याजस्तो कठोर निधोमा पुग्नुभन्दा डिभोर्स गर्नु राम्रो हो । सम्बन्धविच्छेद हिंसाबाट ग्रसितका लागि उपचार हो ।’ तथापि, सम्बन्धविच्छेद गरेका महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोण सहज हुनुपर्ने उनी बताउँछन् । सम्बन्धविच्छेद गरेका महिला र पुरुषलाई समाजले एकरूपताले नहेर्ने बताउँदै उनले त्यसो भएमा पनि महिला आत्महत्या गर्ने निधोमा पुग्नसक्ने उनको भनाइ छ ।
जनचेतनाभन्दा मनचेतना उत्तम
पछिल्लो समयमा भौतिक सुख चाहने युवापिँढीका कारण समाजमा हिंसाका घटना बढ्न थालेकाे बताउँदै डा. उपाध्यायले यसको रोकथामका लागि मनमा सकारात्मक चेत हुनुपर्ने बताउँछन् । समाजका कुरीतिहरूका लागि सरकार वा सरोकारवालालाई मात्र दोष थुपार्नुभन्दा पारिवारिक सचेतना बढाउनुपर्ने उनको भनाइ छ । शिक्षाको पहिलो खुड्किलो मानिने पारिवारिक शिक्षामा नै हिंसाबारे अभिभावले आफ्ना सन्तानलाई शिक्षित तुल्याउन अतिआवश्यक हुने उनको ठहर छ ।
‘परिवार पहिलो शिक्षालय हो’, उनले भने, ‘परिवारले विभेद वा घरेलु हिंसाबारे आफ्ना सन्तानलाई शिक्षा दिन आवश्यक छ । त्यसपछि विद्यालय र विश्वविद्यालयमा यस्तो प्रकारको शिक्षा समावेश गर्न आवश्यक छ । हिंसाबारे चेतनाको अभावका कारण महिलाहरूले आफूले भोग्नु परेको परिस्थिति, पीडा खुलेर व्यक्त गर्न नसक्दा उनीहरूले आत्महत्या जस्तो कठोर विकल्प रोज्ने गरेका छन् ।’ शिक्षाका कारण पनि महिलाहरू आफूमाथि भएको हिंसाविरुद्ध खुल्ने भएका कारण पनि महिला हिंसाको घटना बढेको जस्तो देखिएको उनको तर्क छ ।
नेपाली समाजमा छोरीले सहनुपर्छ वा अनेकन पीडा स्वीकारेर अगाडि बढ्नुको विकल्प छैन भनेर परिवारमा शिक्षा दिँदा पनि उनीहरू हिंसा सहेर आत्महत्याको निर्णयमा पुग्ने गरेको डाक्टर उपाध्याय बताउँछन् । ‘छोरीलाई हुर्काउनेक्रममा वा समाजीकरण गर्नेक्रममा परिवारले छोरीले आफूमा सहनशक्ति भर्नु पर्छ भने सिकाइन्छ’, उनी भन्छन्, ‘हिंसालाई स्वीकार्न अह्राइन्छ । एउटी बालिकाले आफ्नी आमा भोकै बसेर अरूलाई खुवाएको देख्छिन् र त्यस्तै प्रकारको ज्ञान लिन्छिन् । यो हटाउन जरुरी छ । समानताको सुरुवात आफैँबाट र आफ्नै परिवारबाट गर्न आवश्यक छ । हरेक कुरामा सरकार वा सम्बन्धित निकायलाई मात्र दोषी देखाउनु ठिक होइनजस्तो मलाइ लाग्छ ।’