झापामा चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ ।
आज बिहान ६:३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
झापा जिल्लामा जंगली हात्तिको आक्रमणबाट धेरै मानिसहरूले ज्यान गुमाउने गरेका छन् । झापामा मेचीनगरको बाहुाडाँगी, जलथलको जंगल, बुद्धशान्ति, कन्काई, बिर्तामोड, शिवसताक्षी र दमक क्षेत्रका विभिन्न जंगलनजिकै हात्ती घुम्ने गरेका छन् । झापाका यी विभिन्न जंगलमा १० देखि १३ वटासम्म हात्ती रहेको डिभिजिन वन कार्यालयले जनाएको छ ।
विगतमा हुलका हुल जंगली हात्तीहरू भारततिरबाट नेपाली भूमिमा आउने गर्थे। जिल्ला वन कार्यालय झापाका अनुसार मेची नदीकिनारमा लगाइएको विद्युतीय तारबारका कारण हाल त्यसमा भने नियन्त्रण आएको छ।