स्पेनिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग फुटबल पोर्चुगिज क्लब बेन्फिकासँग गोलरहित बराबरीमा रोकिँदै अङ्क बाँड्यो । मङ्गलबार राति घरेलु मैदान क्याप नोउमा भएको समूह चरणको खेलमा पाएको मौका सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।
प्रतिस्पर्धात्मक खेलमा बेन्फिकाको तुलनामा राम्रो प्रदर्शन गरेपनि घरेलु क्लब बराबरीमा रोकियो । बराबरीसँगै जाभी हर्नान्डेज नेतृत्वको बार्सिलोनालाई नकआउट चरणमा प्रवेश गर्न अन्तिम खेल पर्खनु पर्ने देखिएको छ । पाँच खेल खेलेको बार्सिलोना सात अङ्कसहित समूह ‘ई’ को दोस्रो स्थानमा छ । बेन्फिका पाँच अङ्कका साथ तेस्रो स्थानमा छ ।
यस खेलमा एउटा अचम्मको किस्सा भयो । खेलको दोस्रो हाफमा बार्सिलोना गोल गर्न सङ्घर्षरत देखिँदा डिफेन्डर रोनाल्ड अराउखोले गोल गरेका थिए । खेलको अन्त्यतिर २२ वर्षीय स्टारले गोल गरेपछि बार्सिलोनाका फ्यान आशावादी देखिएका थिए । अराउखो पनि ज्यादै खुसी थिए, त्यो खुसीमा उनले मैदानबाहिर गएर घुँडा धसेर उत्सव मनाए ।
तर उनको त्यो खुसी लामो समय चलेन । रेफ्रीले अराउखोको गोललाई अफसाइड घोषणा गरेपछि उनी अक्क न बक्क भए । त्यसपछि भने उनलाई उठ्न समस्या भयो । बार्सिलोनाका दुई स्टाफले उनलाई उठाएर सेलिब्रेसन गर्दा बनेको घाउमा मलम लगाइदिए ।
त्यसपछि उनले खेल्न सकेनन् र उनको स्थानमा जाभी हर्नान्डेजले इरिक गार्सियालाई मैदान प्रवेश गराए । बेन्चमा बसेर बाँकी खेल हेरेका अराउखोको चोट ठुलो भएको मिडिया रिपोर्टमा उल्लेख छ । उनी यो नोभेम्बर महिनाभित्र मैदान फर्किने सम्भावना न्युन रहेको बताइएको छ ।