झापाको दमक नगरपालिकाबाट तीन दिनको अन्तरमा डेढ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ परेका छन् । मङ्गलबार दिउँसो प्रहरीले २९ हजार रुपैयाँसहित नौ जुवाडेलाई पक्राउ गरेको छ ।
दमक–५ का टेक वहादुर कार्कीको घरकोमा तास खेलिरहेको अवस्थामा तीन बुङ तास र २९ हजार सात सय ४५ रुपैयाँसहित नौ जनालाई पक्राउ गरिएको दमक–२ का मोहनकुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा उनीसहित ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
पक्राउ पर्नेमा घरधनी ४६ वर्षीय टेक बहादुर कार्कीका साथै सोही स्थानका ५१ वर्षीय कुशराज खत्री, ५४ वर्षीय सुरेश भण्डारी, ३८ वर्षीय नारायण कडरिया, ४१ वर्षीय सूर्य न्यौपाने, ४८ वर्षीय खगेन्द्र भुजेल, ४० वर्षीय खगेन्द्र राजवंशी, दमक–८ का २९ वर्षीय प्रदीप थापा र कमल गाउँपालिका–५ का ३० वर्षीय सुरेश सुब्बा रहेका छन् ।
मङ्गलबार दिउँसो ३ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।
यसअघि आइतबार अपराह्न ४ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ६ जुवाडेलाई ३ बुङ तास र नगद एक लाख २० हजार ५०० सहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तामाङसहित दमक–२ कै ३८ वर्षीय पूर्णप्रसाद शिवाकोटी, ३० वर्षीय विनोद श्रेष्ठ, ३७ वर्षीय दिलबहादुर श्रेष्ठ, दमक–३ का ३४ वर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका–६ का ४१ वर्षीय दुर्गाबहादुर राई रहेका थिए ।
पक्राउ परेका १५ जनामाथि थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिए ।