सोलुखुम्बुमा आफ्नै छोरा–छोरीमाथि एसिड छ्यापेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुदूधकुण्ड नगरपालिका–५, बसन्त बजारका मोहन बराइली रहेका छन् ।
सोमबार राति पौने ९ बजेतिर बराइलीले मादक पदार्थ सेवन गरेको र रक्सीको नसामा २५ वर्षीय छोरा र १६ वर्षीया छोरीमाथि एसिड प्रहार गरेको सोलुखुम्बु प्रहरीका प्रवक्ता एवम् प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
एसिड प्रहारबाट घाइते दुवैजनालाई उपचारका लागि फाप्लु अस्पताल लगिएको छ । एसिडबाट घाइते छोराको अवस्था गम्भीर छ । यता, प्रहरीले बराइलीलाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ ।