मोरङ प्रहरीले चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला घर भई आफन्तकोमा जहँदा गाउँपालिकामा आएका २४ वर्षीय मुकेश सरदार रहेका छन् ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार गत कात्तिक ४ गते साँझ ८ बजे बालिकालाई सरदारले घरदेखि केही पर लोहान्द्रा खोलामा लगेर करणी गरेका थिए । ती युवक र बालिका नातेदारसमेत रहेको उनले जनाए ।
पीडित बालिकाका आफन्तले छोरी बलात्कृत भएको थाहा पाएपछि किटानी जाहेरी दिएका थिए । आफन्तको जाहेरीपछि ती युवकलाई पक्राउ गरेर म्याद थप गरी अनुसन्धान बढाइएको उनले जानकारी दिए ।
पीडित बालिकाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालिकालाई कोसी अस्पतालमा भर्ना गरी उपचार गर्न थाले पनि रक्तस्राव नरोकिएपछि नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका लागि आफन्तले लगेको मोरङ प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार रक्तस्राव रोकिएपछि अहिले पुनः कोसी अस्पतालमै उनको उपचार भइरहेको छ ।