नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुत्रशोकमा परेका उदयपुरको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीलाई घरमै पुगेर समवेदना दिएका छन् । अध्यक्ष नेपाल र मुख्यमन्त्री राईले त्रियुगा नगरपालिका–११ गाईघाटस्थित घरमै पुगेर चौधरी र परिवारजन प्रति समवेदना दिएका हुन् ।
शनिबार पिकनिक जाँदा पौडी खेल्ने क्रममा डुबेर नगर प्रमुख चौधरीका २८ वर्षीय छोरा पशु चिकित्सक मनोज चौधरीको मृत्यु भएको थियो ।
पुत्रशोकमा परेका पार्टीका प्रदेश १ को अध्यक्षसमेत रहेका नगर प्रमुख चौधरीलाई अध्यक्ष नेपाल र मुख्यमन्त्री राईले सान्त्वना दिएका थिए । नगर प्रमुख चौधरी पुत्रको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । अध्यक्ष नेपाल शव यात्रासँगै त्रियुगा नदीको घाटसम्मै पुगेका थिए ।
हेलिकोप्टरमार्फत विहान ११ः३० बजे स्थानीय हवाईफिल्डमा उत्रिएर अध्यक्ष नेपाल सोझै पुत्र वियोगमा परेका मेयर चौधरीको त्रियुगा नगरपालिका ११ पुरानोगाईघाटस्थित घर पुगेर शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका थिए।
त्यसलगत्तै सुरु भएको शव यात्रामा सहभागी हुँदै अध्यक्ष नेपाल स्थानीय त्रियुगाघाट पुगे। पार्टी प्रवक्ता जगन्नाथ खतिवडासहित आएका पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले स्वर्गीय चौधरीको शवमा माल्यार्पण गर्नुका साथै पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे।
श्रद्धाञ्जली सभामा छोटो समवेदना मन्तव्य राखेका उनले राजनीतिक विषयमा केही बोलेनन्। नेकपा (एस) प्रदेश १ का अध्यक्षसमेत रहेका मेयर चौधरीलाई समवेदना दिन मात्र नेपाल गाईघाट आएको पार्टीले जनाएको छ।
समबेदना दिनका लागि आएको हुनाले उनले पार्टी कार्यकर्ता कसैसँग भेटघाट नगरी २ः०० बजे सोही हेलिमार्फत राजधानी फर्केको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । प्रवक्ता खतिवडा पनि अध्यक्ष नेपालसँगै आएका थिए ।
समवेदना दिन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेकपा (माओवादी केन्द्र) का संघीय सांसद सुरेशकुमार राई, प्रदेश १ का भौतिक पूर्वाधार तथा योजना मन्त्री हिमाल कार्की तथा सांसदहरूको सहभागिता थियो ।