अनलाइन र युट्युवका नाममा बढ्दो बेथिति रोक्न प्रेस काउन्सिल नेपाललाई थप बलियो बनाउनुपर्ने सुझाव विज्ञहरूले राखेका छन् । छापा, रेडियो, टिभी हुँदै युट्युबसम्म आइपुग्दा मिडिया व्यवस्थापनमा चुनौती थपिएकाले त्यसलाई व्यवस्थित बनाउन राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने राय उनीहरूको छ ।
‘काउन्सिलमा काम गर्ने जनशक्ति अपुग छ, श्रोतको अभाव छ भने त्यो राज्यले हेर्ने विषय भयो । अनलाइनका नाममा अहिले देखिएका समस्यालाई काउन्सिलले सम्बोधन गर्नैपर्छ,’ अनलाइनमा पत्रकार आचारसंहिताको अवस्था, सूचीकरण एवं वर्गीकरण विषयमा आयोजित एक कार्यक्रममा सेतोपाटी डट कमका प्रधानसम्पादक अमित ढकालले भने ।
ढकालले दर्ता नभई चलेका अनलाइनमाथि कडा निगरानी गरिनुपर्ने र दर्ता भएर आचारसंहिता उल्लङ्घन गर्नेका हकमा समेत प्रभावकारी अनुगमन हुनुपर्ने सुझाव राख्नुभयो ।
‘राज्यका नियामक निकायमा दर्ता हुने अनि बेथिति साथ सञ्चारमाध्यम चलाउनेमाथि काउन्सिलले के गर्दै आएको छ ?’ ढकालको प्रश्न थियो । प्रेस काउन्सिल नेपालको सभाहलमा आयोजित कार्यक्रममा अनलाइन खबर डट कमका प्रधानसम्पादक शिव गाउँले, बाह्रखरी डट कमका प्रधानसम्पादक प्रतीक प्रधान, इकागज डट कमका प्रधानसम्पादक हरिबहादुर थापा र रातोपाटी डट कमका प्रधानसम्पादक अरुण बरालसहितले अनलाइन व्यवस्थापनबारे विभिन्न सुझावहरू राख्नुभएको थियो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका अनलाइन खबर डट कमका प्रधानसम्पादक शिव गाउँलेले काउन्सिलले अन्य सामाजिक सञ्जालभन्दा अनलाइनमा केन्द्रित भई नियमन गर्न सुझाए । ‘अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धन गर्दै हुने नियमनले मिडिया प्रभावकारी हुन्छ । काउन्सिल थप प्रभावकारी हुन्छ’, गाउँलेले भने । बाह्रखरी डट कमका प्रधानसम्पादक प्रतीक प्रधानले आचारसंहिता पालना गर्ने र नगर्ने सञ्चारकर्मीको फरक काउन्सिलले छुट्याउनुपर्ने धारणा राखे ।
इकागज डट कमका प्रधानसम्पादक हरिबहादुर थापाले पछिल्लो समय काउन्सिलले सक्रियता बढाएकोले राम्रो सन्देश गएको भन्दै नियतैले गरेको गल्ती हो कि मानवीय त्रुटी छुट्याउन विशेष ध्यान दिनुपर्ने बताए । रातोपाटी डट कमका प्रधानसम्पादक अरुण बरालले काउन्सिललाई अझै सञ्चारमैत्री बन्न र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्न सुझाव दिए ।
कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय अनलाईनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको जानकारी दिँदै भने –‘काउन्सिललाई अझ सशक्त र प्रभावकारी बनाउन काउन्सिलको वर्तमान टिम सोच–विचारका साथ लागिरहेको छ ।’
कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनाल, उपप्रशासकीय अधिकृत रामशरण बोहरासहितले पछिल्ला दिन काउन्सिलमा भइरहेका कामका बारेमा उल्लेख गरेका थिए ।