कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी अर्थात ठुलो एकादशी मनाउन काठमाडौंको बुढानिलकण्ठमा मानिसहरूको भिड लागेको छ ।
बुढानिलकण्ठ नगरपालिकामा रहेको काठमाण्डौ उपत्यकाकै प्रमुख मध्ये एक मानिने महत्वपूर्ण स्थल धार्मिक सम्पदा बोकेको बुढानिलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा लाग्ने मेलाको दर्शनाथीहरूको भिड लागेको हो ।
कार्तिक २७ गते देखि सुरु भएर मंसिर ३ गते सम्म हुने सो मेलाको बुढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिले व्यवस्थानपको लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको थियो ।
शिवपुरी र खप्तड बाबाले तप गरेको पावन शिवपुरी पर्वत शृंखलाको काखमा रहेको पवित्र बुढानिलकण्ठ मन्दिरमा हरेक वर्ष लाग्ने गरेको मेला अघिल्लो वर्ष कोरोना प्रकोपका कारण रोकिएपनि यस वर्ष संचालन भएको हो ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।