प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा नाराबाजी गर्ने ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। सर्वोच्च अदालतको इजलास सञ्चालन हुनुपर्ने, सर्वोच्च अदालतलाई बन्धक बनाउन नहुने, नेपाल बार एशोसिएसनको आन्दोलनको विरोध गर्दै प्रधानन्याधीशको पक्षमा प्रदर्शन गर्ने तारा बरालसहित ६ जनालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाट नियन्त्रणमा लिएको हो।
शुक्रबार कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारी भएसँगै आन्दोलतरत कानुन व्यवसायी धर्ना गर्न थालेपछि उनीहरु जबराको पक्षमा नाराबाजी गरेका थिए। प्रधानन्यायाधीशका समर्थक र विरोधमा उत्रिएका कानुन व्यवसायीबीच झडप समेत भएको छ।
प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा कार्यालय छिर्नु अगाडि उनीहरुले धर्ना दिन थालेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ। प्रदर्शनका कारण सडक अवरुद्ध भएपछि त्यस आसपासको क्षेत्रमा ट्राफिक जामसमेत भएको छ।
अहिले आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा भेला भएर धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटमा धर्ना दिएका हुन् ।
त्यहाँ १२ बजेसम्म धर्नामा बस्ने उनीहरुले बताएका छन् । त्यसपछि बार एशोसिएसनको कार्यालय परिसरमा विरोधका कार्यक्रमहरु हुनेछ ।
आन्दोलनको अगुवाइ गर्दै आएको नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले प्रदर्शनमा सहभागीहरुलाई संयमित हुन आह्वान गर्दै आएका छन् । उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् ।