नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि विरुद्ध आज काठमाडौँमा प्रदर्शन भएको छ ।
नेकपा एमाले समर्थित अनेरास्ववियु बागमती प्रदेश कमिटीले आज राजधानीको रत्न राज्य क्याम्पस अघि पेट्रोलियम पदार्थको मूल्य वृद्धि को विरोधमा प्रधानमन्त्री को पुत्ला दहन गरेका हुन् ।
उनीहरूले जनता मारा सरकार मुर्दावाद, परमादेशी सरकार राजीनामा दे, मूल्यवृद्धि रातारात, मिलेमतो ५ दलको उठिबास जनताको, कालोबजारीहरू होसियार, मूल्यवृद्धि फिर्ता गर लगायतका पम्फलेट बोकेर प्रदर्शन गरेका थिए ।
नेपाल आयल निगमले हिजो मध्यरातबाट लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर ७५ रुपैयाँ वृद्धि गरेको हो ।
२०७८ सालमा यो १० औँ पटकको मूल्यवृद्धि हो । सरकारले इन्धनमा लिने करको मात्रा बढी भएपछि आम मानिसहरूले बढी मूल्य तिर्नु परिरहेको छ ।
यो मूल्य समायोजनपछि पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा रहेको निगमको दाबी छ ।
हालको मूल्य समायोजन पश्चात पनि भारतीय सीमाको रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रति लिटर रु. ३७।५३ र डिजेल प्रति लिटर रु. ३०। ६५ ले नेपालतर्फ सस्तो रहेको नेपाल आयल निगमका सह प्रवक्ता पुस्कर कार्कीले जनाएका छन् ।