कोरोना भाइरस महामारीका कारण बन्द रहेका विराटनगर महानगरपालिकाभित्रका विद्यालय सञ्चालन गर्न अनुमति दिइएको छ । विराटनगर महानगरपालिकाले शुक्रबारदेखि विद्यालय खोल्न महानगरभित्रका सबै शैक्षिक संस्थाहरूलाई अनुमति दिएको छ ।
मङ्गलबार बसेको नगर शिक्षा समितिको बैठकले महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरू सञ्चालन गर्न अनुमति दिएको महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्णप्रसाद भट्टराईलले जानकारी दिए ।
स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण रूपमा पालना गरेर कात्तिक २६ गतेबाट सम्पूर्ण विद्यालयमा पूर्णकालीन समयसम्म पठनपाठन कार्य सञ्चालन गर्ने निर्णय भएको उनले जनाए । .
उनका अनुसार कोभिड–१९ को जोखिम कम हुँदै गएको र शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास महाशाखाले रेडियो टेलिभिजनबाट सञ्चालन गर्दै आएको कक्षासमेत बन्द गरेकोले सबै पक्षहरूसँग छलफल गरेर विद्यालय खोल्ने निर्णय गरिएको हो ।