विराटनगर विमानस्थल तीन दिनपछि आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
मंगलबार राति आएको बेमौसमी बाढीले धावनमार्ग जलमग्न भएपछि बुधबारदेखि विमानस्थलबाट हुने सबै उडान बन्द भएका थिए । बुधबार विमानस्थलको धावनमार्गमा ३ फिटसम्म पानी जमेको थियो ।
आजबाट उडान सुरु हुने भएतापनि तत्काल रात्रिकालीन उडान हुने छैन।
प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ । तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुनेछ ।
मंगलबार साँझ मौसम खराबी भएपछि श्री र बुद्ध एयरका अन्तिम उडान रोकिँदा दुवै जहाज यही होल्ड भएका थिए । धावनमार्गमा जमेको पानी बिहीबार सुकेपछि ती जहाजलाई रित्तो अवस्थामा अपरान्ह काठमाडौं फर्काएर अन्य गन्तव्यमा उडिरहेका छन् । कम्पनीहरुले विराटनगरको विकल्पमा भद्रपुर र राजविराजमा अतिरिक्त उडान गरेका छन् ।
यो विमानस्थलबाट काठमाडौंसहित पूर्वी पहाडी जिल्लामा सामान्य अवस्थामा दैनिक २१ वटा उडान हुँदै आएका छन् ।