दुई दिनदेखि लगातार परेको वर्षाले भित्र्याउने बेला भएको धानबालीमा क्षेति पुर्याएको छ । धान काट्ने तयारी गर्दै गर्दा एक्कासी परेको पानीले रुपन्देहीको दक्षिणी क्षेत्रको धानबालीमा निकै ठूलो नोक्सानी पुर्याएको छ ।
रुपन्देही मर्चवारका रामअवतार यादवले पाँच बिगाहा खेतमा लगाएको धानबाली वर्षाले सखाप पारेको बताए । ‘धान पाकिसकेको थियो, अब केही दिनमा काट्ने तयारी गर्दै थियौं, तर एक्कासी वर्षा सुरु भयो । वर्षभरिको मेहनत खेर गर्यो,’ उनले भने ।
धेरैजासो किसान दसैं मानेर धान काट्ने तयारीमा थिए । केही किसानले धान काट्न सुरु पनि गरेका थिए । काटेको र पाकेको दुवै धानमा वर्षाले ठूलो नोक्सानी पुर्याएको छ । बुटवल उपमहानगरपालिका–१५ रानीगन्जका जीतबहादुर रानाले एक बिघा १० कट्ठामा लगाएको धानबाली वर्षाले नोक्सान पुर्याएको बताए । ‘यसवर्ष समयमै पानी परेकाले समयमै रोपाईं भएको थियो, धानमा राम्रो बाला पनि लागेको थियो, तर वर्षाले सबै नष्ट गर्यो,’ उनले भने ।
धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा बिशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानहरूका खेतमा धान पाकिसकेको थियो । रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाईलगायतका स्थानीय तहमा धान काटिसकेको हुनाले धान खेतमै डुबेको छ । थोरैले मात्र उठाउन भ्याएका छन् ।
ओमसतिया गाउँपालिका–५ का गजेन्द्र चौधरीले पनि सबै धानबाली डुबानमा परेको बताए । समयमै पानी परेको र मल पनि समयमै पाएकाले विगतका वर्षको तुलनामा यो वर्ष धान उत्पादन बढी हुने अनुमान गरिएको थियो । यसवर्ष समयमै वर्षा भएपछि पश्चिम तराईका जिल्लामा रोपाई छिटो भएको थियो ।
रुपन्देहीमा ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये ६५ हजारभन्दा बढीमा धान खेती गरिएको छ । रुपन्देही समेत कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्देश धितालले वर्षाले धानबालीमा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको बताए । ‘हामीले स्थानीय तहसँग क्षतिको विवरण मागिरहेका छौं, एक दुई दिनमै थाहा हुन्छ,’ उनले भने ।
अविरल वर्षाले कृषि बालीमा क्षति, बिहीबारदेखि मात्र मौसममा सुधार
आइतबार रातिदेखिको अविरल वर्षाका कारण कैलालीका किसानले ठुलो क्षति बेहोर्नुपरेको छ । भित्र्याउने तयारी स्वरूप काटेको धानबाली डुबेको छ भने भर्खर लगाएको हिउँदे तरकारी तथा तेलहन बालीसमेत नष्ट भएको छ ।
कैलालीका अधिकांश क्षेत्रमा यो समय हिउँदे तरकारी आलु, काउली, बन्दा तथा हरियो साग लगाउने गरिन्छ । धेरै किसानले आलु, काउली तथा हरियो साग भखर्रै रोपेका हुँदा वर्षाले सबै नष्ट भएको छ । ‘चार कठ्ठा जमिनमा आलु गगाएको चार दिन मात्र भयो’, धनगढी उपमहानगरपालिका- ३ का मुसेव खानले भने, ‘यस्तै दुई-तीन कठ्ठा जमिनमा अरू तरकारी लगाएको थिएँ, वर्षाले सबै नष्ट भयो ।’
कैलालीको गौरीगंगा नगरपालिका- २ का किसान भीम साउँदले पनि वर्षाका कारण हिउँदका लागि लगाएको तरकारी बाली नष्ट भएको बताए । ‘खेतमा लाही छरेको दुई दिन मात्र भयो’, उनले भने, ‘आलु पनि लगाएको थिएँ, सबै बिग्रियो ।’
आइतबारदेखिको वर्षाले कञ्चनपुरमा धानबाली डुबेको छ । खेतमा काटेर सुकाएको धान भित्र्याउन नपाउँदै नष्ट भएपछि किसानहरू चिन्तित बनेका छन् । बर्षाले कैलालीमा मात्रै सयौँ बिघा जमीनको धानखेती डुबेको छ । धानसँगै केरालगायतका अन्य बालीसमेत नष्ट भएको किसानहरूले दुखेसो गरेका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका राजकुमार चौधरीका अनुसार भखर्रै काटेको अढाई बिगाह जमिनको धान भिजेर नष्ट भएको छ । ‘यति ठुलो बर्षा हुन्छ भनेर कसले सोच्नु ?’ उनले भने, ।
तटीय क्षेत्रका नगरिकलाई सचेत रहन आग्रह
आइतबार रातीदेखि अविरल बर्षा भएपछि तटिय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ । कैलालीको तराई क्षेत्रसँगै पहाडी क्षेत्रमा समेत निरन्तर बर्षा भइरहेका कारण खोला नालाका पानीको बहाब बढ्न सक्ने प्रहरीको चेतावनी छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सूचना जारी गर्दै प्रदेशको मध्य तथा चुरे तराई क्षेत्रमा भारी वर्षा मापन भएको र आगामी तीन दिनसम्म थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौंका अनुसार सुदूरपश्चिममा आगामी तीन दिनसम्म निरन्तर बर्षा हुने अनुमान छ । महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिमा मानन्धरका अनुसार सुदूरपशिचममा अहिले बंगालको खाडीबाट उत्पन्न न्यून चापीय मनसुनी वायु र पश्चिमी वायु सक्रिय छ । जसका कारण प्रदेशभर बर्षा भइरहेको छ । यो प्रणाली आगामी तीन दिनसम्म सक्रिय रहने उनको भनाइ छ । ‘बिहीबारदेखि मौसममा सुधार आउने अनुमान छ,’ उनले भनिन्, ‘बुधबारसम्म सुदूरपश्चिमका सबै जिल्लामा बर्षासँगै हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ ।’