महानायक राजेश हमालले दसैँको दोस्रो दिन एकादशीमा मात्र बडादसैँको टिका ग्रहण गर्ने गरेका छन् ।
राजेशकी आमा रेणु हमालको विजया दशमीकै दिन निधन भएकाले उक्त तिथीमा हमालले दसैँ नमनाएका हुन्।
हमालले आफ्नी आमाको फोटो फेसबुकमा पोस्ट गर्दै दशमी अर्थात दसैँको टिकाको पहिलो दिन आमाको तिथी परेकाले दोस्रो दिनमात्र टिका लगाउने गरेको बताएका छन् ।
को हुन् राजेश हमाल ?
अग्लो कद, लामो कपाल र सुगठित शरीरका एक लक्का जवानले नेपाली चलचित्र उद्योगमा धमाकेदार इन्ट्री गरे, २०४० को दशकमा । नाम– राजेश हमाल ।
आफ्नै मामाले निर्देशन गरेको ‘युगदेखि युगसम्म’ बाट डेब्यू गरेका हमालले अन्तत नेपाली चलचित्रमा ‘एक युग’ नै राज गरे । पहिलो चलचित्रबाटै ‘स्टार’ भएपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । पछाडि फर्केर हेर्ने फुर्सद पनि भएन उनलाई ।
त्यसताका छिमेकी बलिउड चलचित्र उद्योगमा मिथुन नामका नायकको निकै बोलबाला थियो । सुरुमा मिथुनजस्तै लुक्स भनेर हमालको चर्चा भयो । राजदूतको छोरा, विदेशमा एमए पढेका, अंग्रेजी खरर बोल्न सक्ने, शिव श्रेष्ठभन्दा ठूलो ‘बड्डी’ भएका, फाइट खेल्न माहिर … हमालका बारेमा यस्तै–यस्तै गफ सुन्ने गरिन्थे त्यसबेला ।
उनै हमालले करिब १५ वर्ष नेपाली चलचित्रमा एकछत्र राज गरे । त्यसपछिका १० वर्षसम्म उनी नायकका रुपमा सक्रिय रहे । तीन वर्षदेखि चाहिँ उनी निस्क्रिय छन् । नेपाली चलचित्रमा ‘हमाल युग’ अन्त्य भएको छ । नेपाली चलचित्रको धार पनि बदलिएको छ । अहिले चल्तीका कलाकारहरु हमालभन्दा फरक शैली र विशेषताका छन् ।