हिन्दुहरूको महान् पर्व दसैंका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड बराबरका खसीबोका बिक्री भएका छन् । महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै रु चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोका बिक्री गरेका हुन् ।
असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिक्री गरेका थिए । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ । खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका थिए ।
घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ४६ लाख ५९ हजार १३९, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत रु ८४ लाख ३२ हजार ८४०, माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत् रु ८८ लाख ३८ हजार ७१५, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु २३ लाख ६६ हजार १५५ बराबरको खसीबोका बिक्री गरेका छन् ।
अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत् रु ६७ लाख ७३ हजार ५४९, दिदीबहिनी कृषि सहकारी संस्थामार्फत् रु सात लाख २५ हजार १०८, शुभदिप सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु २८ लाख ३८ हजार ३२४, आधारशीला सामाजिक महिला उद्यमी सहकारीमार्फत् रु ११ लाख ९६ हजार ५५०, सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु ५० लाख ७५ हजार ४७५, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत रु ३० लाख २८ हजार १५८ को खसी बिक्री भएको छ ।
ती सहकारीमार्फत् एक हजार ४८८ खसीबोका बिक्री भएका छन् ।